काठमाडौं– राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवका लागि रमेशकुमार सिलवाल, लीलबहादुर थापा र अञ्जुलाई सिफारिस गरिएको छ ।
मन्त्रालयले सदस्य सचिव नियुक्तिका लागि रामप्रसाद थपलिया संयोजक तथा रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो । समितिले सदस्य सचिवका लागि गत २६ असारमा खुला दर्खास्त आह्वान गरेको थियो । तीन महिलासहित २७ जनाले निवेदन दिएका थिए ।
अब मन्त्रालयले तीनै जनाको नाम मन्त्रिपरिषद्मा पेस गर्नेछ र मन्त्रिपरिषद्को बैठकले राखेपको नयाँ सदस्य सचिवको निर्णय गर्नेछ ।
सदस्य सचिवको योग्यता
राखेप सदस्य सचिव बन्नका लागि नयाँ ऐनमा ३० वर्ष उमेर पूरा भएको, नेपाली नागरिक भएको, स्नातक तह उत्तीर्ण भएको, खेलकुदका क्षेत्रमा पाँच वर्ष काम गरेको तथा प्रचलित कानुनले अयोग्य ठहर नभएको व्यक्ति हुनुपर्ने प्रावधान छ ।