काठमाडौं - चितवन जिल्लामा रहेको नारायणी नदीमा ४ जनाको शव फेला परेको छ । त्यस्तै चितवनकै राप्ती नदीमा १ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार वर्षा रोकिएर नदीको बहाव घटेसँगै बग्दै गरेको र किनारमा तैरिएको अवस्थामा शव भेटिएका हुन् ।
भरतपुर महानगरपालिका–१ ठिमुरामा दुई जनाको बेवारिसे शव फेला परेको छ । ती मध्ये एक जना अन्दाजी १५ वर्षीया किशोरी र अर्का ५५ वर्षीय एक पुरुष रहेको थापाले जानकारी दिए ।
त्यस्तै भरतपुर महानगरपालिका–१६ बस्ने वर्ष ४० का सानो कान्छा भन्ने कर्णबहादुर सुनारको शव बुधबार फेला परेको छ । मङ्गलबारदेखि उनी बेपत्ता भएका थिए । उनको वडा नम्बर १६ कै झनझने भन्ने ठाउँमा शव भेटिएको हो ।
भरतपुरकै वडा नम्बर १ गैँडाचोकस्थित नारायणी किनारमा अन्दाजी ५० वर्षीया एक महिलाको शव फेला परेको छ ।
त्यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिको बूढी राप्ती खोलामा बगाएर ल्याएको अन्दाजी ५० वर्षीय पुरुषको शव भेटिएको उनले जानकारी दिए ।
एक जनाबाहेक अन्यको सनाखत हुन सकेको छैन । शवको मुचुल्का गरेर परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।