काठमाडौं– संस्थागत विद्यालय (निजी)ले आजदेखि पुनः अनलाइन कक्षा सञ्चालन गर्ने भएका छन् । सरकारसँगको वार्ता सकारात्मक भएपछि संस्थागत विद्यालयले अनलाइन कक्षा सुरु गर्ने भएका हुन् ।
निजी तथा आवासीय विद्यालयका छाता संस्थाले ३१ असारमा विज्ञप्ति निकाल्दै शिक्षकलाई बेतलबी बिदा दिई अनलाइन कक्षा स्थगित गर्ने निर्णय गरेका थिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनः सञ्चालनको कार्यविधि तयारीसहित सरोकार पक्षसँग बुधबार छलफल गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन), नेपाल शिक्षक महासंघ, संस्थागत विद्यालय शिक्षक युनियन र अभिभावक महासंघ परामर्श गरेको थियो ।
अभिभावकले विद्यालयलाई अनलाइन कक्षा नरोक्न दबाब दिएका थिए ।– रासस