काठमाडौं- झरी पछिको काठमाडौं जस्तै देखिने
मुहार, सम्झाइदिनुपर्ने
स्वयम्भूको दुई आँखाको भाव,
चार भञ्ज्याङ्गको इतिहास,
जीवन र मृत्युलाई
एकैसाथ जिस्काइरहने
बागमती पुलको रहस्यमय मुस्कान ।
कम्मर खुकुलो भइसकेको
बच्चाको पाइजामा जस्तै
हिँड्दै, माथि सार्दै, फेरि हिँड्दै गर्ने
प्रेमका पैतालाहरु
कहाँ गएर चल्न
अल्छी मानिदिन्छन् ?
प्रेमलाई कहिले
गुराँस हो पनि नस्विकार्नेहरु
बगरमा गुलाफ छोड्नु पहिले
मुटुको पोस्टमार्टम
कुन डाक्टरबाट गराउँछन् ?
सिमलको भुवा छोड्नुअघि,
सिमललाई नै छोएर फर्किँदा
बुर्काभित्रको संवेदनाले
कसलाई सोध्नुपर्छ कि
सिमल बन्न के– के गर्नुपर्छ ?
जन्मेपछि के जन्मियो ?
मरेपछि को मर्यो ?
बिचको मौन अवधिमा
प्रश्नहरुले कहाँ गएर
आत्महत्या गरिदिन्छन् ?
मुटुको उत्खनन गरिरहँदा
भेटिएको कथा सङ्ग्रहलाई
सुधार केन्द्रसम्मको बाटो
देखाई मागेर सोध्नू
प्रेमले कहाँ–कहाँ असर गर्दछ ?
थानकोट छोडेर सुदूर हुईंकिएको
गाडी जस्तै यादहरु,
तिमीहरूलाई त्रिशूलीमा खसालिदिए
छानबिन हुन्छ कि हुँदैन ?
फाँसीपछि अख्तियारी गर्न आउने
ए प्रश्नपत्र !
मैले तिम्रो मर्यादाक्रमसहितको
थप प्रश्न गर्न
मिल्छ कि मिल्दैन ?
-कल्पना जोशी