काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । सेमेस्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।
‘हामीले सेमेस्टरको परीक्षाका बारेमा खुला पुस्तक हेरेर लेख्न सकिने, अनलाइन परीक्षा लिनेबारे सोच बनाएका थियौं,’ उनले भने, ‘तर त्यो सम्भव नहुने भएपछि परीक्षा नै लिने निर्णयमा पुगेका छौं ।’
त्रिविका शिक्षाध्यक्ष प्राडा. शिवलाल भुसालले दसैंअघि नै परीक्षा सञ्चालनको तयारी गरिएको जानकारी दिए । उनका अनुसार त्रिविले चाँडै नै परीक्षाबारे सूचना प्रकाशित गर्ने तयारी गरेको छ । यसपटक विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राखिनेछ ।
‘पहिले हामीले १२–१३ किलोमिटरभित्रमा परीक्षा केन्द्र राख्ने गरेका थियौं,’ उनले भने, ‘यसपटक भने विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राख्नेछौं ।’
कोरोनाका कारण स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेस्टर प्रणालीका परीक्षा स्थगित गरिएकाे थियाे ।