अखिल नेपाल फुटबल संघ (एन्फा) खेलाडी प्रशिक्षणको तयारीमा जुटेको छ । एन्फाले राजधानीमा तथा बाहिर रहेका राष्ट्रिय फुटबल टोलीका सबै पुरुष खेलाडीलाई प्रशिक्षणका लागि तयार रहन निर्देशन दिएको छ ।
राष्ट्रिय फुटबल टोलीका सबै पुरुष खेलाडीलाई यही साउन १७ गतेसम्म काठमाडौं बोलाइएको एन्फा प्रवक्ता किरण राईले बताए ।
साउन १७ गतेदेखि ३० गतेसम्म प्रशिक्षणका लागि आउनै सबै खेलाडीलाई क्वारेन्टिनमा राखिने उनले बताए । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आगामी भदौ १ गतेदेखि प्रारम्भ हुनेछ । उक्त प्रशिक्षण एन्फा कम्पलेक्स सातदोबाटोमा गरिने प्रवक्ता राईले बताए । खेलाडीलाई क्वारेन्टिनमा राखी उनीहरुको पिसिआर परीक्षण गरिनेछ । त्यसकै नतिजाअनुसार खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइनेछ ।
कोरोनाका कारण स्थगित भएका छनोट खेलहरू आगामी अक्टोबर र नोभेम्बरमा गराउने एसियाली फुटबल महासंघ (एएफसी)ले फिफालाई प्रस्ताव गरेको छ । स्थगित भएका खेलहरू आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने भनिएको छ ।
दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ । ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ । नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ । समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा पराजित भएको थियो ।
राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षणको भने कुनै टुंगो लागेको छैन । राष्ट्रिय महिला फुटबल टोलीकी सावित्रा भण्डारीले महिला खेलाडीको प्रशिक्षण अन्योलमा रहेको बताइन् । प्रशिक्षणबारे कुनै जानकारी प्राप्त नभएको उनको भनाइ छ ।–रासस