काठमाडौं - कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि नेपालले जारी गरेको करिब ४ महिनाको बन्दाबन्दीका कारण नेपालको अर्थतन्त्रमा ठुलो असर परेको विश्व बैङ्कले बताएको छ ।
विश्व बैङ्कले बिहीबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ जारी गर्दै गत आर्थिक वर्ष ०७६÷७७ मा नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत मात्र पुगेको जनाएको हो । बैङ्कले चालू आवको आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
विगत तीन वर्षमा निरन्तर ६.५ प्रतिशत माथिको वृद्धिदर रहेकोमा बन्दाबन्दीका कारण गत आवमा वृद्धिदर प्रभावित भएको बैङ्कको निष्कर्ष छ ।
त्यस्तै औद्योगिक क्षेत्रको वृद्धिदर पनि चार वर्ष यताकै कम छ । जसमा ३.२ प्रतिशत मात्र कायम हुने विश्व बैङ्कले जनाएको छ ।
वस्तुको आयातमा भने तीन वर्ष यता पहिलोपटक २.८ प्रतिशतले घटेको जनाएको छ । निर्यात भने २२.१ प्रतिशतले बढेको छ ।
लकडाउनका कारण आर्थिक गतिविधि नहुँदा बैङ्कमा निक्षेप बढेको तर कर्जा भने घटेको विश्व बैङ्कले बताएको छ ।