काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत दमौली डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ । राजमार्गको सडक भाँसिएपछि बनाइएको वैकल्पिक मार्गमा सवारी साधन फसेपछि पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको हो ।
यही साउन ४ र ५ गते उक्त राजमार्ग अवरुद्ध भएपछि लामो समय लगाएर सञ्चालनमा ल्याइएको थियो । अविरल वर्षापछि बन्दीपुर गाउँपालिका–१ स्थित नालामा सडक नै भाँसिएर पहिरो गएपछि यसअघि पनि राजमार्ग अवरुद्ध भएको थियो ।
पहिरोले राजमार्गको सडक नै बगाएपछि वैकल्पिक मार्ग बनाइएको थियो । उक्त वैकल्पिक मार्गमा ग्राबेल नगरेका कारण हिलो हुँदा सवारी साधन फसेपछि राजमार्ग अवरुद्ध भएको बन्दीपुर–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए ।
उनले सवारी सञ्चालनमा ल्याउन कम्तीमा ५÷६ घण्टा लाग्ने अनुमान रहेको बताए । – रासस