काठमाडौं– बिहीबार राति एक २२ वर्षीय युवाले एक युवतीमाथि एसिड प्रहार गरे । रौतहटका मोहम्मद आलमले ओखलढुंगाकी पवित्रा कार्कीमाथि एसिड प्रहार गरेका हुन् । आफूलाई मन नपराएको भन्दै आलमले कार्कीमाथि एसिड प्रहार गरेका हुन् । बिहीबार राति ८ बजे काठमाडौंको सीतापाइलामा भएको उक्त एसिड आक्रमणमा अर्का एक भारतीय नागरिकले साथ दिएका छन् ।
प्रहरी अनुसन्धानले आलमले पवित्रालाई एकतर्फी मन पराएको र पवित्राले उनलाई मन नपराएको झोंकमा एसिड प्रहार गरेको देखाएको छ । बिहीबार मात्रै आलमले पवित्रालाई ३० पटक फोन गरेको तर पवित्राले बेवास्ता गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
एसिड प्रहारमा संलग्न भारतीय नागरिकलाई आलमले पैसाको प्रलोभन देखाइ एसिड छ्याप्न लगाएको प्रहरीले जनाएको छ । आलमले रक्सीको बोतलमा एसिड राखेर छ्याप्न लगाएका थिए । एसिड प्रहारपछि भारत भाग्ने तयारीमा रहेका उनीहरुलाई सिसिटिभी फुटेजका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
एसिड प्रहारबाट घाइते धएकी कार्कीको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।