इजरायल– इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोना भाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ । मदिरा सेवन जाँच्ने ब्रेथलाइजर मेसिनझैं यो ब्रेथलाइजर मेसिनले श्वास विश्लेषण गरेर तुरुन्तै नतिजा देखाउने निर्माता कम्पनीकाे दाबी छ ।
परीक्षण कीट निर्माण गरिरहेको नानोसेन्टले हाल इजरायलमा परीक्षण गरिएको यस मेसिनले ८५ प्रतिशत सही नतिजा दिएको जनाएको
छ । यसलाई एक–दुई महिनाभित्रै नियामक निकायबाट स्वीकृति लिने गरी काम भइरहेको कम्पनीले बताएको छ ।
प्रमुख कार्यकारी ओरेन गाभ्रिलीले ब्रेथलाइजरबाट जाँच भए पनि प्रयोगशाला परीक्षणको अलग्गै महत्त्व हुने बताए । तर, व्यापक समुदायमा परीक्षण गर्न यस मेसिनले मद्दत गर्ने भएकाले आममानिसलाई आत्मविश्वास सिर्जना गर्ने उनको भनाइ छ ।
इजरायलको नानोसेन्ट कम्पनीले वर्षौंदेखि औषधि विज्ञानसहित उच्चस्तरका संवेदनशील उपकरण निर्माण गरिरहेको छ ।– रासस