काठमाडौं– यो वर्ष नेपाली गीत संगीत क्षेत्रमा धेरै काम सोचेअनुरुप भएनन् । कति गीत योजनामै बसे, कलाकारका गीतसंगीतसम्बन्धी कयौं कामहरु यसै थन्किए । तीज गीत रेकर्ड गर्ने सिजनमा कोरोना कहरका कारण देशमा लकडाउन भयो । कलाकारहरु आफ्ना गाउँघरमै व्यस्त भए ।
सिजनमा तीजका गीत रेकर्ड हुन नपाएपछि विगत ६ वर्षदेखि ‘तीज म्युजिक अवार्ड’ गर्दै आएका शान्तिप्रियले यो वर्षको संस्करण नगर्ने मनस्थिति बनाएका थिए । तर, बिस्तारै लकडाउन खुकुलो भएसँगै कलाकारहरुले तीज गीत सार्वजनिक गर्न थाले । गीत निस्कन थालेपछि शान्तिप्रयलाई लाग्यो यस्तो अवस्थामा पनि गीतसंगीत प्रति लगानी गर्न लालाहित कलाकारको सम्मान गर्नुपर्छ ।
अन्ततः तीज म्युजिक अवार्डको सातौँ संस्करण पनि गर्ने निधो गरेका शान्तिप्रियले कोरोना कहरको अवस्था कस्तो हुन्छ भन्ने हिसावले औपचारिक रुपमै गीत दर्ता भने खुलाएनन् । आन्तिरिक रुपमा मात्रै ३ दिनअघिबाट अवार्डका लागि गीत दर्ता सुरु भयो । आब्हानबिनै दर्ता हुन आउने गीतको संख्या राम्रो भएपछि शान्तिप्रियले बिहिबार ‘तीज म्यूजिक अवार्ड’का लागि औपारिक रुपमा दर्ता आब्हान गरेका छन् ।
छायाछवि क्रियसनले गर्दै आएको तीज म्यूजिक अवार्डको यो वर्षको संस्करणका लागि साउन २५ गतेसम्म गीत दर्ता गर्न सकिने आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले बताएका छन् । देशमा सहज अवस्था भइरह्यो भने भदौ ३ गते अवार्ड वितरण गर्ने उनको भनाइ छ ।