डर ए सलाम– तान्जानियाका पूर्वराष्ट्रपति बेन्जामिन मकापाको ८१ वर्षको उमेरमा डर ए सलाम अस्पतालमा निधन भएको छ ।
तान्जानिया सन् १९६२ मा बेलायतबाट स्वतन्त्र भएपछि उनी तेस्रो राष्ट्रपतिका रुपमा चयन भएका थिए । बेन्जामिनले सन् १९९५ बाट २००५ सम्म दुई कार्यकाल राष्ट्रपतिका रूपमा शासन गरेका थिए । मकापाको मृत्युको कारण भने खुलाइएको छैन ।
मकापाको जन्म सन् १९३८ मा दक्षिणपूर्वी मटवाराको एक गरिब परिवारमा भएको थियो । उनले उगान्डामा अंग्रेजीमा विषयमा डिग्री हासिल गरेका थिए । उनले देशको पहिलो राष्ट्रपति जुलियस नायरेरेको प्रेस सल्लाहकारमा नियुक्त भई काम गरेका थिए । राष्ट्रपति हुनुअघि उनले विदेशमन्त्री र सूचनामन्त्रीको जिम्मेवारी लिएका थिए ।
उनको राष्ट्रपति कार्यकालमा आर्थिक सुधार, उद्योगहरू निजीकरण र अर्थव्यवस्था उदारीकरणको भएको मानिन्छ ।– रासस