साउन– आज मूलढोकामा नागका फोटा टाँसेर नागपञ्चमी मनाइँदै छ । नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने तथा अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने धार्मिक विश्वास छ ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए पानीको अभाव हुने भएकाले नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ ।
आजको दिन घरमा नागका फोटा टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ । आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रुपमा पूजाआजा गरी गाईको दूध, अक्षता, दुबो, खिर र रोटीलगायतका परिकार चढाउने गरिन्छ ।