काठमाडौं– कोरोना कहरका कारण पछिल्ला तीन महिना साहित्यिक कार्यक्रमहरु भर्चुअल भए । तर, यसै साता नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले भौतिक कार्यक्रम आयोजना गर्यो। भौतिक दूरी कायम गर्दै २५६४औँ बुद्ध जयन्तीको अवसर पारेर बिहीबार काठमाडौंमा ‘शान्ति कविता गोष्ठी’ सम्पन्न भएकाे हाे ।
'सद्भाव र सिर्जना' नारासहित स्थापना भएको नेपाली कला साहित्य डटकम विगत ११ वर्षदेखि विभिन्न साहित्यिक गतिविधिमा कृयाशील संस्था हो । संस्थाले आयोजना गरेको उक्त ‘शान्ति कविता गोष्ठी’लाई एनएलजी एन्स्योरेन्स कम्पनीले प्रायोजन गरेको हो ।
शान्ति कविता गोष्ठीमा डा. विमल कोइराला, उषा शेरचन, एसपी कोइराला, मोमिला जोशी, मणि लोहनीलगायतका स्रष्टाले कविता वाचन गरेका थिए । कार्यक्रममा कवि एवं समालोच सुरेश हाचेकालीलाई एनएलजी कलाश्री प्रतिभा पुरस्कारबाट पुरस्कृत गरियो । यस्तै, कार्यक्रममा 'कलाश्री' साहित्य वार्षिक छपाइ पत्रिका लोकार्पण गरिएको छ ।