बलेवा– पहिराले बाटो अवरुद्ध हुँदा बागलुङ बजारमा दूध अभाव भएको छ । सदरमुकामबाट पश्चिम र दक्षिण जोड्ने सडक पहिरका कारण अवरुद्ध भएपछि दुध ढुवानी हुन नसक्दा बागलुङ बजारमा दूधको अभाव भएको हो ।
दक्षिणका बलेवा, कुश्मीशेरालगायत क्षेत्रका किसानले उत्पादन गरेको दूध ढुवानीमा समस्या भएको कालिगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले जनाएको छ ।
पल्लोपाखा, नवनमुना, नारायणस्थान र कालीगण्डकीले एकमुष्ट दूध सङ्कलन गरेर बिक्री गर्दै आएका थिए भने जैमिनीले अलग्गै बजार पठाउने गरेको थियो । चार सहकारीले प्रत्येक दिन उत्पादन गरेको एक हजार लिटर दूध र जैमिनीले उत्पादन गर्ने ५०० लिटर दूध गाउँमै रोकिएको हो ।
‘सहकारी ल्याएको दूध बेचिन्थ्यो, तीन दिन भयो– दूध आएको छैन,’ मिलन डेरीका सञ्चालिका हीरादेवी शर्माले भनिन्, ‘पोखराबाट दूध ल्याएर बेच्नुपर्ने अवस्था आइसक्यो ।’
ढुवानी रोकिएपछि किसानको दूध खेर गएको छ भने बजारका उपभोक्ता दूध पाउनबाट वञ्चित भएका छन् ।