चितवन– पूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयमा बनाएका क्वारेन्टिन खाली गर्न थालिएको छ । पठनपाठन सुरु गर्ने तयारी गरिएकाले नगर भित्रका विद्यालयमा बनाइएका क्वारेन्टिन हटाउन थालिएको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बताए ।
खैरहनीमा कंकाली मावि, जनजीवन मावि, खैरहनी मावि, कठार मावि, कपिया मावि, गवै मावि, पिद्रहनी चर्च, गोठेश्वर आधारभूत विद्यालय, टुंगारा आधारभूत विद्यालय, जनएकता आधारभूत विद्यालय र सलौली आधारभूत विद्यालयमा क्वारेन्टिन बनाइएको छ । डिज्नी पार्क रिसोर्टमा भने शुल्क तिरेर बस्न चाहनेका लागि क्वारेन्टिन बनाएको छ ।
साउनभित्र विद्यालय सरसफाइ गरेर पठनपाठनका लागि तयारी अवस्थामा राखिने उनले जानकारी दिए । ‘सरकारले १ भदौदेखि भर्ना सुरु गर्न निर्देशन दिइसक्यो,’ प्रमुख चौधरीले भने, ‘पठनपाठन सुचारु गराउने गरी हामी तयारी गर्दै छौं । राधा स्वामी सत्सङ भवनले निःशुल्क रुपमा क्वारेन्टिनलाई ठाउँ उपलब्ध गराएको छ ।’