थाहा छैन, मेरा बा कहिलेदेखि परदेश धाउनुभयो
बाले बाल्यकालमा हिँडेका ती डाँडा र पखेरुले
हरपल पर्खिरहेका छन्
बाले बयली खेलेको त्यो माथिको बतासे डाँडा
ठूलो सुसेली हालेर बालाई नै बोलाइरहेको छ
तितेपानीको मूलसँगै पानी पिएर बिसौना बस्ने त्यो ठूलो ढुंगाले
अहिले पनि बाकै बाटो हेरिरहेको छ
बजेरी डाँडामा गाईग्वाला जाँदा खुट्टै प्वाल पार्ने तीखा ढुंगा
माफी माग्नका लागि बाकै बाटो हेरिरहेका छन् ।
तर बा परदेशबाट फर्किँदा बीच बाटोमै हराउनुभयो रे
आफ्ना अनगिन्ती सपना बिर्सिएर
म र मेरो भविष्यलाई नै आफ्नो सपना बनाई
असीमित मेहनत गर्दै
मेरै सपनामा डुबुल्की मार्नुभयो
आफूले खान लागेको गाँस पनि मलाई हेरी चटक्कै छाडेर कामतिर जानुभयो
दिउँसोभरि गरेको कामले नपुगी रात नि काममा घोटिनुभयो
दोब्बर काम दोब्बर आम्दानी
सब सन्तानको सपनाका लागि ।
आफ्नो चाहना दबाएर मेरो सपनामा जिउने मेरा बा
आफू गुन्द्रीमा सुतेर मलाई डसनामा सुताउने मेरा बा
आफूलाई भोक लागेको थाहा नपाई म भोकाएको बुझ्ने मेरा बा
आफू खाली खुट्टा काममा जाने
म हिँड्दा खुट्टा बिझायो भनी जुत्ता किनिदिने मेरा बा
आफू लोट्दा होइन, म लोट्दा धेरै डराउने
र चिन्ता गर्ने मेरा बा
मलाई हुर्काइ ठूलो बनाएर
मेरा सम्पूर्ण सपना पूरा गर्छु भन्ने मेरा बा ।
खै आज मै बादेखि टाढा भएँ
हिजोसम्म मेरा हातखुट्टालाई सुमसुम्याउने ती हातहरु
आज चाउरिएर शान्त भई एक्लै बसिरहेछन्
खाना खाँदा मलाई तीन गाँस खुवाएर आफूले एक गाँस खाने मेरा बा
आज खाएको होला भनी चित्त नबुझे पनि बुझाउनुपरेको छ।
हिजो मेरो चुलबुलेपन हेर्ने ती आँखाहरु
आज मेरो पर्खाइमा छन्
म केही बोल्दा कान ठाडो पारी सुन्ने मेरा बा
घर पुगेर मैले ‘बा’ भनेर बोलाएको सुन्नलाई पर्खी बसेका छन्।
हिजो मसँगसँगै खेलेर रमाउने मेरा बा
आज फोनबाटै कुराकानी गरी रमाउनुपर्ने भएको छ।
नचाहँदा नचाहँदै समयले म र बालाई यति टाढा बनाइदियो
तर बाका कार्य उही नै रहेछ।
बालाई जसरी हात्तीगौडा, ठूलोपँधेरो, जलुकेको वनले पर्खी बसेका छन्
त्यसैगरी मलाई पनि सुनकोटको त्यो डाँडो, जामुनि गैराको पानी
झम्मरेको खेत, बाँसघारी नजिकको कुवा
अनि त्यो पीपलको बोटले पर्खी बसेका छन्
तर फगत यी मेरा सम्झनाबाहेक अररू केही छैन ।
मलाई माफ गरिदिनुहोला बा
किनकि म आफूलाई बिर्सिएर हजुर जस्तै
मेरा सम्पूर्ण सपना पुस्तान्तरण गर्दै छु।