मेरो पहिलो रेकर्डेड आधुनिक गीत उडेर जून छुन्छु भन्थें हो । यही गीतले मलाई गीतकारका रूपमा परिचय दिएको हो । गायक रामभक्त जोजिजूले ०५५ सालमा रेडियो नेपालले आयोजना गरेको अधिराज्यव्यापी संगीत सम्मेलनमा यो गीत गाउनुभयो । उहाँ र म उत्कृष्ट हुने अवसर मिल्यो । त्यसपछि ०५६ सालमा यो गीत रेकर्ड भएको हो । यसमा संगीत बिबी अनुरागीको छ ।
गीत सुनेपछि मलाई धेरैले प्रेमवियोगी भने । आगो कस्तो छ भन्ने थाहा पाउन आगो त छोएको हुनुपर्छ भन्ने साथीभाइ तथा श्रोताको तर्क पनि ठिकै हो । हुन पनि यो गीत मैले एकदमै नजिकबाट देखेको एउटा घटनाबाट उत्प्रेरित भएर लेखेको हुँ ।
गीत-गर्भ
एक युवकले युवतीलाई मन परायो । त्यो कुरा बताउन उसले युवतीलाई चिठी लेख्यो । साथीले चिठी लगिदियो । धेरै पटक पत्र आदानप्रदान भइसकेपछि युवकले युवतीलाई विवाहको प्रस्ताव राख्यो । तर, युवतीले अस्वीकार गरिन् । आखिर पत्र लगिदिने साथीसँगै युवतीको विवाह भयो ।
यो घटनाले मलाई निकै छोयो । त्यही प्रेम वियोगमा पीडित भएको व्यक्तिको कथालाई आधार बनाएर यो गीत लेखेको हुँ । हामीले लक्ष्मीप्रसाद देवकोटोको ‘उद्देश्य के लिनू उडी छुनू चन्द्र एक’ भन्ने कविता पढेका छौं । त्यसैले मानिसले उद्देश्यलाई जूनमा तुलना गरिरहेको हुन्छ । प्रेम गरेको मानिसलाई पाउनु पनि जून छुनु जस्तै मान्छन् प्रेममा परेका युवायुवती । मैल यही विषयलाई गीतमा ढालेको हुँ ।
गायक गीतबारे के भन्छन् ? (गीतसहित)