काठमाडौं– कोभिड–१९ को लक्षण देखिएका संक्रमित भेटिन थालेका छन् । पहिले ९८ प्रतिशत संक्रमितमा लक्षण देखिएको थिएन भने अहिले नयाँ संक्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको पाइएको हो ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डा. वासुदेव पाण्डेले नयाँ संक्रमितमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जिउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता समस्या देखिन थालेको जानकारी दिए ।
पाण्डेका अनुसार काठमाडौं उपत्यकामा १६ मध्ये नौ जनामा लक्षण देखिएको छ । ‘पहिले देखिएका संक्रमितमा लक्षण देखिएको थिएन,’ उनले भने, ‘तर अहिले देखिएका संक्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेका छन् ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले भर्ना भएका बिरामीमध्ये एक तिहाइमा लक्षण देखिएको बताए ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. विष्णुप्रसाद शर्माले पहिलेभन्दा अहिले अस्पताल आउने संक्रमितमा लक्षण देखिन थालेको जनाए । ‘पहिले अस्पतालमा भर्ना हुने संक्रमितमा लक्षण देखिएको थिएन,’ उनले भने, ‘तर अहिले अस्पतालमा भर्ना भएका संक्रमितमा सामान्य रुघाखोकी, ज्वरो जस्ता लक्षण देखिन थालेका छन् ।’