काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टी विभाजन नहुने बताएका छन् । गुरुङले राष्ट्रिय सहमतिका साथ अघि बढ्नुको अर्को विकल्प नरहेको बताउँदै पार्टी विभाजन नहुने बताएका हुन् ।
उनले भने, ‘पार्टी विभाजन हुनुहुँदैन । पार्टी विभाजनको बाटोबाट जानुहुँदैन, विभाजनको बाटोबाट जानु भनेको के हो, प्रजातन्त्र सिद्धिने बाटोमा जानु हो ।’
गुरुङले नेकपा फुट्दा नेपालको राष्ट्रियता नै संकटमा पर्ने खतरा रहेको र बहस तथा छलफल भए पनि पार्टीभित्र नफुट्ने दाबी गरे ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले देशका विभिन्न स्थानमा भएको बाढीपहिरो, कोरोनाको महामारी, हत्या, हिंसा, बलात्कार, एसिड आक्रमणजस्ता घटना नियन्त्रणमा लाग्न सरकारलाई आग्रह गरे ।
जनता समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले कोरोनाले भन्दा बढी मानिसले बाढीपहिरो र डुबानजस्ता विपत्ति भोग्दा सरकारले समयमै उद्धार र राहत व्यवस्था गर्न नसकेको आरोप लगाए ।– रासस