काठमाडौं– आगामी सोमबारबाट मौसम पुनः सक्रिय भई भारी वर्षा हुने बताइएको छ । सोमबारदेखि अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना रहेको र न्यूनचापीय रेखा नेपालनजिक आउने भएकाले भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने जनाइएको छ । विगतको घटनासमेतलाई मध्यनजर गरी आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।
भूगर्भविद् शिव बाँस्कोटाले पहिले गएका पहिरो सक्रिय हुन सक्ने तथा जमिन गलिसकेकाले थोरै पानी पर्दासमेत अन्य क्षेत्रमा समेत पहिरो खस्नसक्ने तथा नदीमा एक्कासी बाढी बढ्ने भएकाले थप सतर्कता अपनाउनुपर्ने बताए ।
गत असार २५ देखि २९ सम्म न्यूनचापीय रेखा नेपाल नजिक आउँदा मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षा भएको थियो । सोही वर्षाका कारण म्याग्दी, कास्की, जाजरकोट र सिन्धुपाल्चोकमा ठुल्ठूला पहिरो खसेर जनधनको क्षति भएको थियो ।
मनसुन सक्रिय भएपछि मुलुकमा बाढी, पहिरो र चट्याङका कारण १ सय ४१ जनाको मृत्यु भइसकेको छ । तीमध्ये सबैभन्दा बढी पहिरोले मात्रै १२६ जनाको ज्यान लियो भने ४४ अझै बेपत्ता छन् । उक्त अवधिमा पहिरोमा परेर ११३ घाइते भएका प्राधिकरणले जनाएको छ ।