पोखरा– पश्चिमाञ्चल होटल संघले होटल सञ्चालनका लागि पूर्वतयारी गर्न आग्रह गरेको छ । अध्यक्ष विकल तुलाचनले एक विज्ञप्ति जारी गरी होटल व्यवसायलाई पूर्ववत् रुपमा सञ्चालनका लागि तयारी गर्न आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान अवस्थाले पर्यटकहरुको आगमनमा शून्य रहेको हुँदा यो समयलाई सदुपयोग गर्दै प्रमुख पर्यटकीय सिजनलाई लक्षित गरी त्यस समयमा आगमन हुने पाहुनालाई भयरहित वातावरणको सुनिश्चितता गर्न आग्रह गरिन्छ ।’
आतिथ्यता प्रदान गर्न सङ्घले होटल प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुलाई होटल सञ्चालन कार्यविधि (प्रोटकल)अनुरुप तालिम प्रदान गर्ने, सुरक्षा सावधानीका सामग्री खरिदमा सहजीकरण गर्ने हुँदा यहाँहरुलाई आन्तरिक तयारीमा जुट्न आग्रहसमेत गरिएको छ ।
यसैगरी, संघले नेपाल राष्ट्र बैंकले जारी गरेको २०७७/७८ को मौद्रिक नीतिमा होटल तथा पर्यटन क्षेत्रमा सहुलियत दरको पुर्नकर्जा, ऋणको पुनःतालिकीकरण, साँवा तथा ब्याज भुक्तानीका लागि थप समयावधि माग भएअनुसार केही सम्बोधन हुनुले वर्तमान परिस्थितिमा केही राहत मिलेको महसुस गरेको गरेको छ ।