रौतहट– बन्दाबन्दीका बेला एक भारतीय महिलालाई रौतहट प्रवेशमा रोक लगाउँदा भारतीयद्वारा सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । भारतीयको आक्रमणबाट सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवाका वरिष्ठ हवल्दार लीलाबहादुर थापा घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेको छ ।
शुक्रबार साँझ भारत बिहार पूर्वी चम्पारण घोडासहन थाना क्षेत्रअन्तर्गत कोरैया गाउँका दुई महिला परोहा नगरपालिका–८ नरकटिया सीमा हुँदै रौतहट प्रवेश गर्न लागेका थिए । उनीहरुलाई रोक्न खोज्दा उल्टै सशस्त्र प्रहरी हबल्दारमाथि घरेलु हतियार हँसिया प्रहार भएको थिए । हँसिया प्रहारबाट वरिष्ठ हबल्दार थापा घाइते भएपछि स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गर्नुको साथै एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल प्रदेश २ नं बर्दिवासका प्रमुख डिआइजी कृष्णभक्त ब्रह्माचार्यले बताए ।
नरकटिया नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवाबाट खटिएको सशस्त्र प्रहरीका १५ जनाको टोलीले ती महिलालाई प्रवेश गर्न दिएका थिएनन् । झडपको क्रममा भारतीय नागरिक ४५ वर्षीय रवीन्द्र कुशवाहालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर राति ८ बजे प्रहरी चौकी नरकटियामा बुझाएको हो । घटनाको खबर पाएलगत्तै सशस्त्र प्रहरी ११ नं गणका प्रमुख एसपी रवीनराज कर्णजितको कमान्डमा ५० सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक राकेशकुमार यादवको कमान्डमा ३५ जना नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
शनिबार सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी कृष्णभक्त ब्रह्माचार्यसमेतको टोलीले घटनास्थलको निरीक्षण गरेका छन् । हाल नरकटिया नाकाको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ । –रासस