काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य लेखराज भट्टले राजनीतिक बेइमानी गरेको सुदुरपश्चिम प्रदेश कमिटीका सहइन्चार्ज खगराज भट्टले बताएका छन् । उनले पार्टीका सुदुरपश्चिम प्रदेशका नेताहरुसँग शुक्रबार छलफल गर्ने क्रममा प्रचण्डको भनाइ उदृत गदै उक्त कुरा बताएका हुन् ।
भट्टले भने ‘लेखराज जीले राजनीतिक बेइमानी गरेका छन् । स्थायी कमिटी माओवादीको कोटामा हुने, मन्त्री माओवादीको कोटामा हुने अहिले प्रचण्डले धोका दियो भन्ने ? यो भन्दा राजनीतिक बेइमानी के हुन्छ ।’
सुदुरपश्चिम प्रदेश कमिटीका सहइन्चार्ज खगराज भट्ट, मुख्यमन्त्री त्रिलोचन भट्ट, केन्द्रीय सदस्य तथा खानेपानीमन्त्री विना मगर, रेणु चन्द्रलगायत करिब २८ जना नेताहरु प्रचण्डलाई भेट्न शुक्रबार खुमलटार गएका थिए ।
पार्टीभित्र सरकारमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका कारण समस्या आएको प्रचण्डले बताएको भट्टले जानकारी दिए ।
प्रचण्डको भनाइ उदृत गर्दै भट्टले भने ‘ओलीका कारण अहिलेको समस्या उत्पन्न भएको हो । उहाँले एकताको भावना मर्मभन्दा विपरित गएर व्यवहार गर्दै स्वेच्छाचारी रुपमा पार्टी संचालन गर्न खोज्नुभएको छ । सहयोद्धाहरु भन्दा आफूमाथि भएको देखाउन खोज्ने र पार्टी कमिटीले दिएको सल्लाह सुझाव नमानी षड्यन्त्रको राजनीति गर्न खोज्नुभएको छ ।’
ओली आमत्मकेन्द्रीत, चरम व्यक्तिवादी, आफू नै सर्वेसर्वा हुँ भन्ने चिन्तनबाट ग्रसित भएको प्रचण्डले बताएको भट्टले बताए । उनले प्रचण्डको भनाइ भन्दै भने ‘आफूले आधा–आधा सरकारको नेतृत्व गर्ने सम्झौता छोडेर ५ वर्ष प्रधानमन्त्री एकलौटी ओलीलाई चलाउन भन्दा पनि आफूलाई कार्यकारी अध्यक्ष भएर काम गर्न नदिएको, उल्टै मिडियामा गएर म पनि कार्यकारी हुँ भन्दै हिँड्नुभयो । यो ओलीको स्वेच्छाचारी व्यवहार हो ।’
ओलीको र आफ्नो समान हैसियतका अध्यक्ष भएपनि ओलीले नै पार्टी कब्जामा लिएको गुनासो प्रचण्डले गरेका थिए ।
आफूले पटक–पटक अपमानित हुनुपरेको कुरा सुदुरपश्चिमका नेताहरुलाई प्रचण्डले सुनाएको भट्टले जानकारी दिए ।