काठमाडौं - गण्डकी प्रदेशमा यस वर्ष मनसुन शुरु भएता बाढी पहिराका कारणबाट ७८ जनाको मृत्यु भएको छ । तीमध्ये ४० महिला र ३८ पुरुष रहेका छन् । प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार गतवैशाख महिनादेखि प्राकृतिक विपत्तिमा परी आठ जना बेपत्ता भएका छन् भने ६८ घाइते भएका छन् ।
प्रदेशका ११ जिल्लामध्ये बाढी पहिराबाट बढी ज्यान गुमाउने जिल्लामा म्याग्दी रहेको छ । म्याग्दीमा १६ महिला र १५ पुुरुषको मृत्यु भएको छ भने चार महिला बेपत्ता छन् ।
त्यसैगरी तनहुँमा ८ महिला र ३ पुरुषको मृत्यु भएको छ भने १ बेपत्ता छन् । कास्कीमा ५ पुरुष र ५ महिला गरी बाढी पहिराका कारणबाट १० जनाले ज्यान गुमाएका छन् ।
लमजुङमा १ महिला तथा ३ पुरुष, स्याङ्जामा १ महिला र ४ पुरुषको मृत्यु भएको छ भने १ पुरुष बेपत्ता छन् । गोर्खामा १ महिला १ पुरुषको मृत्यु तथा १ पुरुष बेपत्ता छन् ।
पर्वतमा ६ महिला र ३ पुरुषको मृत्यु भएको छ भने नवलपरासी पुर्वमा १ महिला र १ पुरुषले ज्यान गुमाएका छन् भने बागलुङमा पनि यहिँ संख्या रहेको छ । मनाङ र मुस्ताङमा भने हालम्म प्राकृतिक विपत्तिका घटनाबाट मानवीय क्षति नभएको बताइन्छ ।
कास्कीमा ७ महिला र ५ पुरुष गरी १२ जना पहिरामा परी घाइते भएका छन् । त्यसैगरी लमजुङमा ११ महिला र १२ पुरुष गरी २३ तथा म्याग्दीमा ६ महिला ७ पुरुष गरी १३ जना घाइते छन् ।
स्याङ्जामा ८ पुरुष र २ महिला, तनहुँमा ३ महिला तथा ४ पुरुष, पर्वतमा १ पुरुष र बागलुङमा १÷१ महिला पुरुष बाढी पहिरामा परी घाइते भएको कार्यालयले जनाएको छ । - रासस