सुनसरी– धरानको पालिका तरकारी बजारमा विद्युत् सर्ट भै आगलागी हुँदा ५२ लाख ६३ हजारको क्षती भएको छ । सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित उक्त तरकारी बजारमा आगलागी हुँदा ११ वटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आगलागीमा फलफूल, तरकारी, कस्मेटिक, किराना पसल र होटल जलेर पूर्णरूपमा नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । आगलागीमा परेर रमा चौहान खतिवडा, कल्पना तामाङ, ओसिन श्रेष्ठ, सविता खनाल लिम्बू, ज्ञानकुमार श्रेष्ठ, अनिता आचार्जु, नीरा निरौला, इन्दिरा श्रेष्ठलगायतको पसल र पसलमा भएका विभिन्न सामग्री, पैसा, फर्निचरका सामग्रीसमेत जलेर पूर्णरूपले नष्ट भएको हो ।
स्थानीयवासी, धरान उपमहानगरपालिकाको वारुणयन्त्र, नगर प्रहरी र जनपद प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।
-रासस