पोखरा– पोखराको मनिपाल अस्पतालमा कार्यरत एक डाक्टरमा कोरोना संक्रमणको पुष्टि भएको छ । आइतबारसम्म अस्पतालमा बिरामी जाँचमा खटिएका डाक्टरमा संक्रमण देखिएपछि उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसमा पठाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देश डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
संक्रमण पुष्टि भएका डाक्टर मेडिकल वार्डमा कार्यरत थिए । मनिपाल अस्पतालकै आवासमा बस्दै आएका डाक्टरमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले आवास तथा मेडिकल वार्डमा स्यानिटाइज गर्ने र चिकित्सकको सम्पर्कमा आएका सबैको खोजी कार्य सुरु भएको छ ।
बिरामीको उपचार गर्दै गरेका डाक्टरमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा पछिल्लो १० दिन यता अस्पताल आएका बिरामी, अस्पतालका कर्मचारी सबैको स्वाब संकलनको तयारी भइरहेको छ ।