- वसन्तराज अज्ञात
तिमीलाई मन दिनेहरूको भीडमा
म मात्र कहाँ अछुतो रहन सकेँ
तिमीलाई यहीँ कतै छाडेर एक्लै
म मात्र कहाँ अगाडि बढ्न सकेँ
तिमीलाई हेरी के–के भन्छन् भन्नेहरू
चाँदनीझैँ छौ तिमी, जेजे भनून् अरू
मनले भन्छ– तिमीलाई मनैभित्र राखूँ
नजरको चिनाजानी नजरले नै डाकूँ
अधरभरि गुराँसको रङ्ग भरेजसै
मुस्कानले झनै–झनै खुलेको छ उसै
यस्तो रङ्ग–मुस्कानमा लाग्छ बास बसूँ
दैवको यो रचनालाई तारिफ गरिरहूँ ।