रुद्र ज्ञवाली
मनगाँठु कोइरी सदाझैं बिहानै उठ्यो । अघिल्लो दिन साँझ ठिक्क पारेका तरकारीका झोलाहरू साइकलमा राख्यो र साइकल कुदाएर तरकारी बेच्ने मण्डीमा पुग्यो । तर आज के अचम्म ! सधैझैं बाटोमै साइकल छोपेर मानगाँठुको तरकारी खोसाखोस गर्न कोही पनि आएनन् । त्यसैले मनगाँठु सिधै मण्डीभित्रको परिचित व्यापारी कहाँ पुग्यो ।
“के गर्ने मन गाँठु । आज साँझदेखि मण्डी बन्द हुँदैछ । भएको तरकारी त कहाँ फाल्ने हो जस्तो भइसक्यो । बरु यसो गर । ल्याएको तरकारी बाटातिर बसेर आफै बेच । अरुले पनि त्यस्तै गरेका छन् ।” व्यापारीले सल्लाह दियो ।
“किन यस्तो भएको ?” मनगाँठुले आफ्नै पारामा सोध्यो ।
“ कुन्नि के रोग आयो रे । यो रोग त खतरा रोग हो रे । यसको औषधी पनि छैन रे । रोग लाग्यो भने त ठहरै मरिन्छ रे । त्यसैले सरकारले हिँडडुल गर्न बन्द गरेको रे । हिँड्नै परे पनि ई यो लगाएर मात्रै हिँड्न पाइने रे ।” आफ्नो मुखको मास्क देखाउँदै व्यापारीले भन्यो ।
“के हो रे यो ?” मनगाँठुले अचम्म मानेर सोध्यो ।
“अरे मनगाँठु । यत्ति पनि थाहा छैन लाटा । यो त मास्क हो मास्क । यसलाई यसरी लगाएपछि यसले रोगका किरा छेक्छ रे । त्यहीँ भएर मैले त घरका सबैलाई मास्क लगाइदिएको छु । म त राती सुत्दा पनि यो उतार्दिन ।” व्यापारीले भन्यो ।
व्यापारीको सल्लाह बमोजिम मानगाँठु बाहिर निस्क्यो । सडक किनारमा तरकारी किन्ने र बेच्नेको भीड रहेछ । तर मनगाँठुले आफै तरकारी बेच्न सकेन । अन्ततः उसले त्यहीँ सडकमा तरकारी बेचिरहेको व्यापारीलाई सधैको भन्दा आधा मूल्यमा तरकारी बेच्यो ।
मनगाँठु मण्डीबाट बाहिर निस्क्यो । बाहिरको एउटा किराना पसलबाट तीनथान मास्क किन्यो । एउटा आफ्नो लागि, एउटा मेहरारूका लागि र एउटा छोराको लागि ।
मनगाँठुले पसलेसँग मास्क लगाउने तरिका सोध्यो र मास्क लगायो । कहिल्यै नलगाएको चिज लगाउँदा एकैछिन केही असजिलो भएजस्तो पनि लाग्यो । मनगाँठु मास्क लगाएरै घर पुग्योे । उसको मुखमा मास्क देखेर मेहरारु हातले मुख छोपेर हाँसी ।
“हाँस्नेको कुरा छैन । ल यो तिमीहरूलाई पनि । बहुत बुरा रोग आएको छ रे । छोयो कि मान्छे ठहरै । अब यसले मात्रै त्योे रोगका किरा मारिदिन्छ रे । ल लगाई लेउ ।” यति भन्दै मनगाँठुले मेहरारू र छोरालाई मास्क लगाई दियो ।
जम्माजम्मी पाँचकठ्ठा खेत, त्यसैमा लगाएको तरकारी, श्रीमतीले दहेजमा ल्याएको बुढीबाख्री र त्यसको एकथान पाठो तथा एउटा फुसको छाप्रो । मनगाँठुको जम्माजम्मी पूँजी यत्ति हो ।
मान्छेको पहिलो सर्त हो बाँच्नु । जसरी पनि बाँच्नु । मनगाँठुलाई पनि बाँच्नु छ र जहान परिवारको पर्वरिश गर्नु छ । त्यसैले अचेल ऊ मुखमा त्यहीँ मैलो मास्क लगाएर घरघरमा तरकारी डुलाउँछ ।
गाउँका नेता वा कसैले पनि मनगाँठुलाई कोरोना र लकडाउनका विषयमा सिकाएको बुझाएको छैन । यस विषयका विज्ञहरुले आफूले जानेको जानकारी फेसबुकमा भित्ताहरुमा हालेका छन् । नेताहरुले रेडियो र टेलिभिजन मार्फत जनताका नाममा सम्बोधन गरेका छन् । तर मनगाँठुसँग टिभी छैन र रेडियो पनि छैन । मनगाँठुले फेसबुक एकाउण्ट पनि खोलेको छैन । फेसबुक चलाउन जान्दैन र दिनरात काममा मात्र जोतिइरहने उसलाई यतातिर चासो पनि छैन । त्यसैले कोरोना र लकडाउन कुन चराको नाम हो उसलाई थाहा छैन । कहाँ कहाँ कति मान्छे मरे त्यो पनि थाहा छैन ।
तरकारी व्यापारीले भनेको आधारमा मनगाँठुले अहिलेसम्म बुझेको अन्तिम बुझाई यत्ति हो कि एउटा डरलाग्दो र निको नहुने रोग जताततै फैलिएको छ र त्यहीँ मास्कले मात्रै मान्छेलाई मर्नबाट बचाइरहेको छ । उसको अर्थमा त्यो मास्क मात्रै यस्तो तारनहार हो जसले उसलार्ई पनि मर्नबाट बचाउँछ ।
त्यसैले मनगाँठुको मुखमा त्यो एक थान मास्क नफाटेसम्मका लागि चिप्किएको चिप्कियै छ ।