काठमाडाैं– भाडा समायोजनको लागि दरबारमार्ग बिकास बाेर्डले आह्वान गरेको बैठकमा घरधनीहरु उपस्थित भएनन । बैठकमा घरधनीसँग सल्लाह गरेर समस्याको समाधान खोज्ने तय भएको थियो । ‘‘हामीले सबै घरधनीलाई बोलाउन भनेका थियौ, बाेर्डका एक सदस्यले भने, ‘खै किन हो सल्लाह गर्न पनि कोहि आउनुभएन् ।’'
घरधनीहरु उपस्थित नभएपछि महानगरिय प्रहरी वृत्त दरबारमार्गका प्रमुख डिएसपी रञ्जनकुमार दाहालको रोहबरमा बसेको बैठकले ३ सदस्यीय समिति बनाउने तय भएकाे छ । साे समितिले दरबारमार्गका सबै व्यवसायीहरुसँग छलफल गरी सबै घरधनीहरुलाई ज्ञापनपत्र बुझाउनेछ । लकडाउनका कारण व्यवसायहरु ठप्प भएको बेलामा आफुहरुले चर्को भाडा तिर्न नसक्ने भन्दै व्यवसायीहरुले सहुलियतको माग गरिरहेका छन् ।
क्यापीटोल मलमा सञ्चालित मुगल ए महफील रेष्टुरेन्टकी सञ्चालिका सलोनी तामाङले मलका सञ्चालक शक्ति बेगानीले आफुँलाई घरभाडा तिर्न १० दिनको अल्टिमेटम दिएको बताईन् । ‘‘भाडा तिर्नको लागि एकदमै धेरै दबाब आईरहेको छ’’, उनले गुनासो पोख्दै भनिन्, ‘‘१० दिन भित्रमा भाडा तिरेन भने दिने भनिएको छुट पनि नदिने कुरा गर्दैछन् ।’’ लकडाउनमा रेष्टुरेन्ट बन्द हुँदाको समेत बिजुलीको बिल करिव ७४ हजार रुपैयाँको आउदाँ आफुँ अचम्मित भएको बताउदैँ उनले थपिन्, ‘‘पसल नै ओपनिङ नभएको अवस्थामा १८–२० लाख कसरी तिर्न सक्छु ?’
‘अवस्था एकदम नाजुक भइसकेको छ,' दरबारमार्गका एक व्यवसायी भन्छन्, ‘यही अवस्था रहिरह्यो भने हामीले व्यवसाय बन्द गरे पनि हुन्छ ।’ यस्तो बिषम् अवस्थामा सबै पक्षले एकअर्कालाई सहयोग गर्दै अघि बढ्नुपर्ने व्यवसायीहरुको धारणा छ । समितिले २ दिनभित्रमा घरधनीहरुलाई ज्ञापन बुझाउनेछन् ।
