- विष्णुबहादुर सिंह
खाए कि खाएनन् बचेरा जस्ता छोराछोरीले
फूलजस्ता नातिनातिनाको खाली नै छ पेट
आउँछन् भगवान् जस्ता इष्टमित्रहरु
तपस्यालीन भएझैँ जुट्छिन् खुब सेवामा
उनी खस्दा पूर्वमा घाम उदाउँछ
उनका चम्किला आँखामा घाम अस्ताउँछ
उनको काखमा आदिम गन्ध र ताप छ –
किनकि उनी मेरी आमा हुन् ।
उनी छिन् र त एउटा घर छ
तुलसीको मठमा पानी हाल्दै
उनले भजन गुन्गुनाउँदा
पल्लो हिमालमा सुनौलो घाम लम्पसार पर्छ
उनको शरीरबाट आउने सुगन्ध
र भिजेको मेरो देशको माटोको गन्ध
किन उस्तैउस्तै लाग्छ ?
उनका आँखाबाट आँसु झर्दा
पृथ्वी किन यसरी अडीअडी घुम्छ
के पृथ्वी र मेरी आमा
एउटै हुन ?
पहाड हुन् आमा
सन्तानका लागि हुरी छेक्ने,
नदी हुन् आमा
सन्तानका लागि आपूm बग्ने,
धरती हुन् आमा
सन्तानका लागि आकाश बोक्ने
ए नदीहरु ! फेरी बगिदेऊ
ए चराहरु ! फेरी गाइदेऊ
ए पहाडहरु ! फेरी अग्लिदेऊ
ए पृथ्वी ! फेरी हाँसिदेऊ
– तिमीहरु हाँस्दा मेरी आमाको अनुहार हाँस्छ ।
मलाई मात्र मेरी आमा हाँसे पुग्छ ।