काठमाडौं– जवाफदेहिता निगरानी समितिले चितवनको चेपाङ समुदायमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरेको छ । समिति संयोजक चरण प्रसाईंले प्रेस विज्ञप्तिमार्फत घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
‘चेपाङ समुदायका पाँच पुरुष र दुई महिला निकुञ्ज क्षेत्रभित्र घुँगी टिप्न गएको बखत नेपाली सेनाका अधिकारीले नियन्त्रणमा लिई निर्मम यातना दिएका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा निकायबाट भएका यस्ता गम्भीर घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही हुनुपर्छ ।’
घटना
साउन १ गते चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको कुटाइबाट चितवन जिल्ला राप्ती नपा–२ मिलनटोल बस्ने २४ वर्षीय राजकुमार चेपाङ गम्भीर घाइते भई साउन ७ गते उपचारका क्रममा उनकाे मृत्यु भएको थियो भने पाँच पुरुष घाइते भएका थिए ।
साउन ३ मा राष्ट्रिय निकुञ्जबाट खटिएको टोलीले निकुञ्जको जग्गा खाली गर्ने भन्दै पूर्वजानकारी र वैकल्पिक व्यवस्थापनबिना दुई घरमा आगजनी गर्नाका साथै आठवटा घरमा हात्ती लगाएर पीडितको बासस्थान भत्काएको थियो ।