काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १ सय २१ कोरोनामुक्त भएको बताएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १३ हजार ८ सय ७५ जना पुगेको जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३९ रहेको छ । मुलुकभरका विभिन्न क्वारेन्टिनमा हाल १५ हजार ३ सय ३१ व्यक्ति रहेको गौतमले जानकारी दिए ।
थपिए संक्रमित
आज ३ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको ५ हजार ३२ पिसिआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जनाएको छ ।
संक्रमितको निधन
यसैगरी, कोरोनाका कारण थप एक जनाको निधन भएको छ । बझाङको बुंगल गाउँपालिका–३ स्थायी ठेगाना भएका ६५ वर्षीय पुरुषको यही साउन ९ गते आफ्नै घरमा निधन भएको हो । दम रोगका बिरामी उनी गत असार २४ गते भारतको बैंगलोरबाट घर फर्किएका थिए । योसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या जम्मा ४९ पुगेको मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।
उपत्यका प्रवेशअघि पिसिआर परीक्षण
सरकारले हाल काठमाडौं उपत्यका प्रवेश गर्ने विभिन्न तीन नाकाबाट कोरोना संक्रमण जाँचका लागि नमुना संकलन गरिरहेको छ । यसै क्रममा आज साँझ ४ बजेसम्ममा फर्फिङ नाकाबाट ९५५, थानकोट नागढुंगाबाट २ हजार ९ सय १४ र साँगा ९४४ गरी जम्मा ४ हजार ८ सय१३ जनको पिसिआर परीक्षणका लागि नमुना संकलन गरिएको छ ।
नमुनाको रिपोर्ट आएपछि यथाशीघ्र जानकारी गराइने मन्त्रालयका प्रवक्ता गौतमले बताए । मुलुकमा बन्दाबन्दी खुले पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले आवश्यक स्वास्थ्य सावधानी अपनाउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।