रुपन्देही– बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले विदेशी कामदार ल्याउँदा अनिवार्य रुपमा प्रशासनको स्वीकृति लिन उद्योगी व्यवसायीलाई आग्रह गरेको छ । संघले आज प्रेस विज्ञप्तिमार्फत भारतलगायत अन्य मुलुकका कामदार ल्याउँदा प्रशासनको स्वीकृति लिन आग्रह गरेको हो ।
नेपाली उद्योग प्रतिष्ठानमा काम गर्ने कामदार ल्याउँदा स्थानीय तहमार्फत अनिवार्य क्वारेन्टिनमा राख्ने, आवश्यक भएमा पिसिआर जाँच गराउने र विदेशी नागरिक कामदार भएमा अनिवार्य प्रशासनको स्वीकृति लिएर मात्रै ल्याउन आग्रह गरिएको हो ।
विज्ञप्तिमा झन्डै चार महिना लामो लकडाउन अन्य भएपछि पनि बुटवल बजार क्षेत्रमा कोरोना भाइरसको संक्रमण देखिएकाले सबै सचेत रहन भनिएको छ ।
त्यसैगरी, व्यवसायी तथा उपभोक्ता समेतलाई भीडभाड कम हुने उपाए अपनाउन र डिजिटल भुक्तानी प्रणाली अवलम्बन गर्न आग्रह गर्दै पिसिआर परीक्षणको दायरा बढाउन तथा व्यक्तिगत सुरक्षाका उपाय अवलम्बन गराउने कामलाई समेत प्रभावकारी बनाउन तीनै तहका सरकारसँग जोडदार माग गरिएको छ ।