सप्तरी– सप्तरी प्रशासनले मास्क नलगाई हिँड्ने १ सय २३ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । नियन्त्रणमा लिइएका १ सय २३ जनाबाट प्रतिव्यक्ति १०० रुपैयाँ जरिमाना तिराएर छाडिएकाे जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता तिलक भारतीले राजविराज बजार क्षेत्रलगायत कञ्चनरुप, कल्याणपुर, शम्भुनाथ बजारबाट मास्क नलगाई हिँड्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको बताए । जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार सूचना जारी गर्दै सार्वजनिक स्थानमा हिँडडुल गर्दा अनिवार्य मास्क लगाउन आग्रह गरेको थियो ।
नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले नियन्त्रणमा लिइएकालाई अनिवार्य मास्क उपलब्ध गराउनुपर्ने बताए ।