कैलाली– अवरिल वर्षासँगै कर्णाली नदीमा पानीको बहाव खतरा नजिक पुगेको छ । इलाका प्रहरी कार्यालय चिसापानी (कैलाली)का प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले मध्याह्नसम्म कर्णाली नदीमा पानीको बहाव १०.१० मिटर पुगेको बताए । कर्णालीमा पानीको बहाव ११ मिटर पुगेपछि खतरा मानिन्छ ।
पानीको बहाव खतरा नजिक पुगेपछि बर्दिया र कैलालीको तल्लो तटीय क्षेत्र आसपासमा बसोवास गर्ने समुदायलाई सतर्क रहन सूचना दिइएको छ ।
कर्णालीका कारण मोहना नदीको पानीको बहाव रोकिन गई जिल्लाको दक्षिणी सीमावर्ती गाउँ डुबान र कटानको जोखिममा पर्ने गरेका हुन् । नदीको बाढीले कैलालीको भजनी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका र टीकापुर नगरपालिकाका कतिपय वडाका गाउँबस्ती डुबानमा परेको सशस्त्र प्रहरी बल नं ३४ गणका प्रहरी उपरीक्षक कमल तिम्सिनाले बताए ।
‘वर्षासँगै नदीमा बढेको पानीको बहाव गाउँबस्तीमा पसेपछि जिल्लाको दक्षिणी क्षेत्र र दक्षिणपूर्वी क्षेत्रका झन्डै १ हजार ५०० घर डुबानमा परेको जानकारी आएको छ,’ उनले भने, ‘डुबानमा परेका घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने कामका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।’
भजनी नगरपालिका वडा नं ३, ५ र ८, जानकी गाउँपालिका वडा नं १, २, ३, ४ र ७, टीकापुर नगरपालिका–२ विजयनगर र मिलनपुर, जोशीपुर गाउँपालिकाको अमरैया र पथरैयालगायत गाउँ डुबानमा परेका छन् ।– रासस