काठमाडौं– नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल प्रहरीको मुख्यालय प्रहरी प्रधान कार्यालयमा साउन ११ गते चार जनामा कोभिड–१९ देखिएको थिए । त्यसपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा मंगलबारको परीक्षणमा थप ३१ जनामा कोभिड–१९ पुष्टि भएको थियो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले भने, ‘पहिले पनि सुरक्षा मापदण्ड बनाएर काम गरिएको थियो, हेडक्वार्टरमै संक्रमण देखिएपछि अझै थप सावधानीका साथ खटिन निर्देशन दिएका छौं ।’
प्रहरीमा अहिलेसम्म २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ९९ जना निको भएर घर फकिए पनि १०७ उपचाररत छन् ।
त्यस्तै, सीमा क्षेत्रको सुरक्षामा खटिएको सशस्त्र प्रहरीका ९२ जनामा कोभिड–१९ संक्रमण भएको हो । उनीहरुमध्ये अझै २८ जना उपचाररत छन् । सीमा क्षेत्रमा प्रत्यक्ष रूपमा मानिससँग सम्पर्कमा पुग्नुपर्ने भएकाले पनि संक्रमण देखिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालले बताए ।
नेपाली सेनामा पहिलोपटक गत जेठ ३ गते संक्रमण देखिएको थियो । त्यसयता अहिलेसम्म ७९ जनामा संक्रमण पुष्टि भइसकेको छ । अहिलेसम्म ७२ जना उपचारपछि निको भएको र सात जनाको उपचार जारी रहेको नेपाली सेनाका सूचना अधिकारी सन्तोषबल्लभ पौडेलले बताए । राष्ट्रिय अनुसन्धान विभागका चार जनामा कोभिड–१९ देखिएको जनाइएको छ ।
कोभिड–१९ को नियन्त्रणका लागि नेपालभर ४४ हजार बढी प्रहरी खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुरक्षाको दोस्रो घेरामा सशस्त्र प्रहरी र त्यसपछि नेपाली सेनाले काम गरिरहेको छ ।