चितवन– नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले कालोसूचीमा रहेका ३ सय १६ ग्राहकलाई बक्यौता रकम असुलका लागि खोज्न थालेको छ । केन्द्रले कालोसूचीमा राखिएका ग्राहक नेपालको जुनसुकै स्थानमा गएर बसेको भए पनि उनीहरुको लाइन काट्ने र असुली गर्ने तथा बैंक वित्तीय संस्थालाई उनीहरुको विवरण जानकारी गराई सेवा रोक्नेलगायतका कामको प्रक्रिया सुरु गरेको छ ।
केन्द्रले गत आर्थिक वर्षमा ३ सय १६ ग्राहकलाई कालोसूचीमा राखी कारबाही गरेको छ । लाइन काटिएको छ महिनासम्म पनि बक्यौता नतिर्ने ग्राहकलाई कालोसूचीमा राखिएको केन्द्रले जनाएको छ ।
कार्यालयका प्रमुख सुरेशकुमार महतोका अनुसार कालोसूचीमा पछिल्लो चरणमा परेका ४६ जनाबाट १६ लाख २३ हजार १ सय ८८ र पहिलो चरणका २ सय ७० ग्राहकबाट ७२ लाख ५५ हजार ५२४ बक्यौता उठाउनुपर्ने हुन्छ । महतोले उनीहरुमध्ये ११ ग्राहकले कालोसूचीमा राखेपछि बक्यौता रकम तिरेका छन् । उनीहरुबाट ७ लाख ९२ हजार २ सय ४४ असुली भएको कार्यालयले जनाएको छ ।
कार्यालयले सोही समयमा एक हजार ६ सय ५३ को लाइन काटेको जनाएको छ । उनीहरुबाट २ करोड ७९ लाख ५३ हजार ४ सय ३५ असुली हुनुपर्नेमा १ हजार १ सय ५० जनाबाट ३ करोड २ लाख ३३ हजार १ सय ५८ असुली भएको उनले जानकारी दिए ।
भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाको अधिकांश भाग हेर्दै आएको कार्यालयमा हाल ५७ हजार ग्राहक रहेका छन् । उनीहरुबाट वार्षिक १४ करोड ९७ लाख ६३ हजार ६६९ युनिट विद्युत् खपत हुने गरेको छ । भरतपुर महानगरमा ९८ प्रतिशत विद्युतीकरण भइसकेको छ भने इच्छाकामना गाउँपालिका–१ मा रहेका ७०० घरधुरी विद्युतीय सेवाबाट वञ्चित रहेको कार्यालयले जनाएको छ ।
विद्युतीकरण नभएका क्षेत्रका लागि पूर्ण विद्युतीकरणअन्तर्गत १६ करोड ६३ लाख २६ हजार बजेट विनियोजन गरिएको र ठेक्काको काम सम्पन्न भई यही आर्थिक वर्षमा पूर्ण विद्युतीकरण गरिने महतोले जानकारी दिए ।