काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लीलादेवी सिटौलालाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उनले खसआर्य समावेशी समूहबाट निर्वाचित भई शपथ लिएकी हुन् ।
तत्कालीन जनता पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सरिता गिरीलाई पार्टीले बर्खास्त गरेपछि उक्त पद रिक्त थियो । भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समावेश गरेका विषयमा गिरीले दिएको अभिव्यक्ति राष्ट्रियताविपरीत भएको ठहर गर्दै पार्टीले उनलाई सांसदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीको क्रमसंख्या १९ र खसआर्य समावेशी समूहको क्रमसंख्या २ मा रहेकी सिटौलालाई निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गरेको हो ।
तत्कालीन नेकपा (माले)को विद्यार्थी संगठनबाट २०४४ सालमा राजनीतिमा प्रवेश गरेकी सांसद सिटौला जसपा संस्थापक सदस्य हुन् । झापाको अर्जुनधारामा २०२८ माघ ८ गते जन्मिएकी सिटौलाले नेपाली माटो र जनताप्रति कटिबद्ध भई राष्ट्रिय हित र जनजीविकासँग जोडिएका विषयमा आफूले आवाज उठाउने बताइन् ।