कविता
चेपाङ वस्तीको आगो र कमरेडको मृत्युको घोषणा
– प्रमोद प्रधान
चेपाङ वस्तीमा आगो लगाइएपछि
स्वफूर्त रूपमा
माइतीघर मण्डलामा जम्मा भएका
आक्रोशित अनुहारहरूले
गरिदिए कमरेडको मृत्युको घोषणा !
धेरै अघि नै मरिसकेका कमरेडको मृत्युको घोषणाले
म भने आश्चर्यचकित छु, अलमल्लमा छु ।
जहिलेदेखि कमरेडका आँखाहरू
कुइना च्यातिएको दौरा र कमिज
घुँडा टालेको सुरुवाल र फाटेको कछाड
बाहुला च्यातिएको कुर्था
टाल्दा टाल्दा बेरूप बनेका गुन्यूचोलो लगाएकाहरूलाई देखेपछि
आपैm विपरीत दिशातिर फर्किन्थ्यो ।
जहिलेदेखि कमरेडलाई
चर्को घाममा खेत जोतिरहेका किसानको
र, भारी बोकिरहेका मजदूरको
पसिनाले भिजेको शरीरबाट आउने गन्ध
नाकमा पर्नासाथ ‘बान्ता’ आउलाजस्तो हुनथाल्यो
वास्तवमा, कमरेडको मृत्यु त त्यही दिन भइसकेको थियो ।
जहिलेदेखि कमरेडलाई
सोफा, बडेमाको काँचको पर्दासहितको बैठककोठा
महँगो गद्दादार पलङसहितको भव्य ‘बेडरूम’
‘मोडुलर किचेन’
फ्रीज, एसी, बारको वरिपरि बस्ने बानी लाग्यो ।
जहिलेदेखि कमरेडका गोडाहरू
दुइ पाइला हिँड्नासाथ थाक्न थाले र
खोज्न थाले महँगा वाहनहरू,
वास्तवमा कमरेडको मृत्यु त त्यही दिन भइसकेको थियो ।
र मलाई लागिरहेको छ,
त्यही मरिसकेको कमरेड
अहिले भूत भएर चेपाङवस्तीमा आगो लगाउँदै हिँडेको छ ।
चेपाङ वस्तीमा आगो लगाइएपछि
स्वफूर्त रूपमा
माइतीघर मण्डलामा जम्मा भएका
आक्रोशित अनुहारहरूले
गरिदिए कमरेडको मृत्युको घोषणा !
धेरै अघि नै मरिसकेका कमरेडको मृत्युको घोषणाले
म भने आश्चर्यचकित छु, अलमल्लमा छु ।