काठमाडौं– लकडाउन खुलेसँगै कोभिड–१९ संक्रमणको दर बढेको पाइएको छ । लकडाउन खोल्नुअघिका आठ दिन र लकडाउन खुलेपछिका आठ दिनपछिकाे परीक्षण र संक्रमितको संख्याले कोरोनाको संक्रमण दर बढेको पाइएको हो ।
लकडाउन खुल्नअघिका आठ दिनको अवधिमा ३४ हजार ४ सय ५७ नमुना परीक्षण गर्दा १ हजार ४९ जनामा संक्रमण पुष्टि भएको थियो । लकडाउन खुलेको पछिल्ला आठ दिनमा ३४ हजार १ सय ९ नमुना परीक्षण गर्दा १ हजार २ सय ७९ जनामा कोरोना पुष्टि भएको छ ।
लकडाउन खुल्नुअघिका आठ दिन तीन प्रतिशतमा सीमित रहेको कोरोना संक्रमण पछिल्ला आठ दिनको अवधिमा बढेर ३.७ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले कोभिड अगाडिको जस्तै सामान्य जीवनमा फर्किएको नबुझ्न आग्रह गरे । कोरोना भाइरसको जोखिमकै बीचमा काम गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले उचित जनस्वास्थ्य सावधानी अपनाउन अनुरोध गरे । पछिल्ला केही दिनदेखि लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
पछिल्लो २४ घण्टामा विभिन्न २९ वटा प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षणमा २ सय१० जनामा कोभिड–१९ पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।– रासस