काठमाडौं– सरकारले शुल्क लिएर कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्न अनुमति दिएसँगै विध म्यानेजमेन्टद्वारा सञ्चालित कोभिड–१९ प्रयोगशालाले कोरोना भाइरस परीक्षण गर्ने तयारी गरेको छ । प्रयोगशालाले भोलि (बिहीबार)देखि औपचारिक रुपमा कोरोनाको परीक्षण थाल्ने सञ्चालक विके भण्डारीले जानकारी दिए ।
ललितपुरको कुपण्डोलमा रहेको उक्त ल्याबले दैनिक चार हजारभन्दा बढी नमुना परीक्षण गर्ने र पाँच घण्टामै ‘रिपोर्ट’ उपलब्ध गराउने विध म्यानेजमेन्टले जनाएको छ । प्रयोगशालामा पाँच थान अटोमेटिक आरएनए एक्ट्याक्सन मेसिन जडान गरिएको छ । सरकारले केही सरकारी तथा निजी प्रयोगशालालाई ५ हजार ५०० शुल्क लिएर कोरोना परीक्षणको अनुमति दिएको भए पनि सो प्रयोगशालाले ४ हजार ५०० मै कोरोना परीक्षण गर्ने जनाएको छ ।
‘विपद्को समयमा सकिन्छ भने सस्तो मूल्यमा नै परीक्षण गरौं भन्ने सोचका साथ काम गरेका हौं,’ प्रयोगशालाका प्रमुख भण्डारीले भने ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले विध म्यानेजमेन्टलाई गत असार १२ गते कोभिड–१९ परीक्षणसम्बन्धी प्रयोगशाला स्थापनाका लागि आशयपत्र दिएको थियो । आशयपत्र पाएको एक सातामा नै आफूहरुले प्रयोगशाला स्थापना गरिसकेको प्रमुख भण्डारीले बताउनुभयो । यसअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीले प्रयोगशालाको स्थलगत निरीक्षण गरेका थिए ।
सरकारले यसअघि स्टार अस्पताल र केएमसीलगायत सात वटालाई कोरोना परीक्षणको अनुमति दिइसकेको छ । धुम्रबाराहीस्थित ह्याम्स अस्पतालले पनि सःशुल्क कोभिड–१९ परीक्षणको अनुमति पाएको छ । ह्याम्सले शुल्क लिएर आजदेखि कोरोना परीक्षण थालिसकेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले केही दिनअघि मन्त्रालयमा आयोजित नियमित ‘प्रेस ब्रिफिङ’मा सरकारी तथा निजी प्रयोगशालामा दैनिक १८ हजार नमुना परीक्षण गर्ने गरी तयारी भइरहेको बताए ।– रासस