उलान बटोर– मंगोलिया सरकारले शिशु कक्षा र विद्यालय सुचारु गर्ने तयारी भएको बुधबार घोषणा गरेको छ । कोरोनाका कारण लामो समयदेखि बन्द रहेका ती संस्थाहरु आगामी सेप्टेम्बर १ देखि सञ्चालन गर्ने तयारी भएको अधिकारीहरुले जनाएका छन् ।
‘देशका सबै शिशु कक्षा र विद्यालयहरु आगामी सेप्टेम्बर १ देखि पुनः सञ्चालन गर्ने निर्णयमा हामी पुगेका छौं,’ सरकारी कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
त्यसैगरी व्यावसायिक तथा सीपमूलक प्रशिक्षण र उत्पादन केन्द्रहरुका पठन पाठन भने सेप्टेम्बर १४ देखि सुचारु गरिने अधिकारीहरुको भनाइ छ ।
उनीहरुले विश्वविद्यालयका विद्यार्थीहरुलाई अक्टोबर ५ पछि मात्रै कक्षा कोठामा फर्काउने गरी तयारी भइरहेको जानकारी दिएका छन् । मंगोलियमा कोरोना भाइरसका कारण अहिलेसम्म २१९ जना मात्रै संक्रमित भएका छन् । उनीहरु सबै विदेशबाट आएकाहरु रहेको सरकारी अधिकारीहरुको भनाइ छ । कोरोनाकै कारण मंगोलियामा अहिलेसम्म कसैको पनि निधन भने नभएको सरकारको दाबी छ ।
–रासस