तिमी आउँदै छौ भन्ने सुनेर
तिमी आउँदै छौ भन्ने सुनेर
हामी हर्षले उफ्रँदै
माथि मचानमा उक्लिएर
पर–पर––त्यो बाँस झ्याङभन्दा
पनि पर
दोबाटो, चोरबाटो र चौबाटोभन्दा
पनि अझै पर
पर देखिने डाँडामा टोलाएर
हेरिरह्यौँ, हेरिरह्यौँ
बाटोभरि आँखा ओछ्याएर
तिमी आउँदै छौ भन्ने सुनेर
हामी हर्षले उफ्रँदै
माथि मचानमा उक्लिएर
हेरिरह्यौँ, हेरिरह्यौँ
बाटोभरि आँखा ओछ्याएर ।
त्यस दिन हामी
आधा रातसम्म पनि
तिमीलाई पर्खिएर
अगेनाको वरिपरि
बूढी बज्यैको कथा चाटेर
अलिकति पनि अल्छी नमानी
बसिरह्यौं, बसिरह्यौं
“गुलबकावली” को खोजमा भौंतारिएको
राजकुमारको कौतुहलमा भन्दा
तिम्रो प्रतिक्षामा
समयलाई एकाग्र तुल्याएर
घरी–घरी आँखा उठाएर
ढोका निहाल्दै–हामी
बसिरह्यौं, बसिरह्यौं
तिम्रो प्रतिक्षामा हृदयलाई ओछ्याएर ।
तिमी गाउँ, गल्ली र बस्ती हुँदै
आउँदै छौं भन्ने सुनेर
तिमी मान्छेको मन–मन र मस्तिष्क
पखाल्दै आउँदै छौ भन्ने सुनेर
तिमी एउटा नयाँ विश्वास र
एउटा नयाँ ज्योति लिएर
आउँदै छौ भन्ने सुनेर
हर्षले गद्गद् हुँदै हामी
तिमीलाई पर्खिरह्यौं
पर्खिरह्यौं, पर्खिरह्यौं
शहरको प्रत्येक चोक–गल्ली र मोडमा
भीडमा,
सुनसानमा र
चुपचापमा
तर नपाएर कतै
हामी लखतरान भएर
साँझ भर फक्र्यौं
र आँखा ओछ्याएर हेरिरह्यौं
फेरि पनि तिमी आउन सक्ने
संभाव्य बाटाहरुमा ।
सुन्दैछु–
तिमी सम्पूर्ण अभावहरुका विरुद्ध
एउटा युद्ध जितेर आइरहेछौं
सुन्दैछु–
तिमी कथित आस्थाहरुका विरुद्ध
एउटा प्रलय लिएर आइरहेछौं
आउनू तिमी कसै गरी पनि
तिमीलाई हाम्रो स्वागत छ
तर तिमी आउँदा
रोगीलाई दुई गोली औषधी र
हामीलाई भर–पेट खान दिने
बिहान लिएर आउनू
आङ ढाक्नलाई एकसरो लुगा र
रात काट्नलाई एउटा
बास लिएर आउनू
आउनू–
तिमी कसै गरी पनि आउनू
यो शरद्ले उजाड–निराश
तुल्याएको फूलबारीमा
वसन्त लिएर आउनू
ठिहीले लुगलुगाइरहेका
यी अनुहारहरुमा
असंख्य न्यानो घाम लिएर आउनू
आउनू–
तिमी कसै गरी पनि आउनू
अझैं सक्छौं भने तिमी
सम्पूर्ण विश्वलाई एक तला
माथि उठाउने भएर आउनू ।
तिमी आउँदै छौं भन्ने सुनेर
हामी हर्षले उफ्रन्दै
माथि मचानमा उक्लेर
हेरिरह्यौं, हेरिरह्यौं
बाटोभरि आँखा ओछ्याएर
बसिरह्यौं, बसिरह्यौं
मनभरि
सपनाको विस्कुन सजाएर ।
000
म पृथ्वीनारायण शाह
जोडेर धेरै मनहरु
फोडेर धेरै किल्लाहरु
यो देश बनाउने
अपराधी मै हुँ
गुमनाम तिमीलाई
नाम दिएर
स्वाभिमान तुल्याउने
अपराधी पनि मै हुँ
जजस्ले आँखा लगाए
यो माटोमाथि
गर्दन रेटेर तिनीहरुको
खडाँ पखाल्ने पनि मै हुँ
हो, यो देश बनाएर
अपरा गरेको भन्छौं भने
त्यो अपराधी पनि मै हुँ
हो, यो देश बनाउने
अपराधी मै हुँ ।
तिमीले उठाएको
त्यो रातो झण्डा
फहराउने
अपराधी मै हुँ
तिम्रो धमिनीमा
हरदम बहने
चेतनाको ज्वाला
मै हुँ
बारबार झकाएर
आफ्नो शिर
तिम्रो शिर उठाउने
अपराधी पनि मै हुँ
यो गम्बा बनाउने मै हुँ
यो गीर्जा ठडाउने मै हुँ
मस्जिद, मन्दिर पुज्ने मै हुँ
चर्केर चीराचीरा भएको
पिडालाई पखालेर
संग्लो देश बनाउने
अपराधी पनि मै हुँ
हो, जजस्ले घात गरे
यो माटो माथि
त्यो फिरंगीलाई लखेट्ने
अपराधी पनि मै हुँ
थाकेर लखतरान
हर साँझ
तिम्रो नानीसँग
कोक्रोमा निदाउने
त्यो निषाद पनि
मै हुँ
हर बिहान
झुल्केर घामसँग
तिम्रो अनुहारमा पोखिने
उज्यालो पनि मै हुँ ।
आउ, मलाई कोपर
चिथोर
पारेर नाङ्गेझार
सडकमा घिसार
म कदापी आहत हुन्न
यो माटो मेरो हो
यो कहिल्यै पराइलाई दिन्न
छिनालेर मेरो शालिक
तोड, फोड
एकता यो टुट्न दिन्न
बग्छ भने बगोस
रगतको नदी
म यो देश मर्न दिन्न
म यो देश मर्न दिन्न ।