काठमाडौं - आज साउन १५ नेपालीहरुले खीर खाने दिन हो । धेरै नेपालीहरुले यो दिनलाई खीर खाने दिनको रुपमा मनाउँदै आएका छन् । आजको दिन सबैको घरमा खीर पाक्ने गर्छ । सबैको घरमा खीर पाकेपनि मिठो खीर कसरी बनाउने त्यो थाहा नहुन सक्छ । आज यो लेखले तपाईहरुलाई मिठो खीर बनाउन सिकाउने छ ।
खीर बनाउन चाहिने आवश्यक सामग्री
– दुध १ लिटर
– चिनी (आवश्यक मात्रामा)
– चामल (बासमती वा ताइचिन) (आवश्यक मात्रामा)
– काजुका टुक्रा २ सानो चम्चा
– नरिवलका टुक्रा २ सानो चम्चा
– छोकडाका टुक्रा २ सानो चम्चा
– सुकुमेल २÷३ पिस
– किसमिस ६÷७ पिस
– ल्वाङ २÷३ पिस
– तेजपात १÷२ पात
खीर बनाउने तरिका
– सर्वप्रथम चामललाई केलाएर सफा पार्नुहोस् ।
– खीर बनाउन आवश्यक चामललाई सफा पानीले राम्ररी पखाल्नुहोस् ।
– चुलोमा आगो बाल्ने र दुध हालेर डेक्ची बसाल्ने ।
– दुधलाई राम्ररी तात्न दिने ।
– धोएर राखेको चामललाई उम्लिएको दुधमा हाल्ने ।
– आगोमा दुध र चामल केही मिनेटसम्म पकाउने ।
– दुधमा चामल छड्किन थालेपछि काजु, नरिवल, ल्वाङ, सुकुमेल, किसमिस, छोकडाको टुक्रा,चिनी, तेजपात हालेर छोप्ने ।
– चामल र मसलालाई सानो आगोमा १२÷१५ मिनटसम्म पकाउने ।
– यसरी तपाईको खीर तयार हुन्छ । त्यसपछि खीरलाई चुलोबाट उतार्ने र मनतातो अवस्थामा भएपछि खीर खानुहोस् ।