अनलाइन पत्रकारितामा प्रवेश गर्दै गर्दा म्याक मिडियाको एउटै ध्येय थियो– पत्रकारिता आममानिसका लागि हुनुपर्छ । त्यसैले हामीले डोमेनको नाम नै नेपाली पब्लिक छनोट गर्यौं । नेपाली पब्लिक डटकम सुरु गरेको तीन बर्ष पूरा भइसकेको छ ।
तीन बर्षकै अवधिमा पनि प्रविधिको तीव्र विकास र विस्तारले सूचना प्रवाहको तौरतरिकामा निकै बदलाव आइसकेको छ । अनलाइन पत्रकारिताको अभ्यास संख्यात्मक र गुणात्मक दुवै हिसाबले बढेको छ । अनेकन आरोह–अवरोह झेल्दै प्राप्त गरेको अनुभवले हामीलाई यो बदलाव र विकास आत्मसात् गर्न सहज बनाएको छ ।
हामीले आफ्नो ध्येय बदलेका छैनौं, अझ मूर्त बनाउन लागि परेका छौं । जनताको सूचना पाउने अधिकारको जगमा उभिएर पत्रकारिताको मूल्य–मान्यतामा अडिग हुँदै आफ्नो ध्येय पूरा गर्ने बाटोमा निरन्तर हिँडिरहने प्रतिबद्धता पुनः व्यक्त गर्दछौं । अनुभव र उर्जाले सज्जित नयाँ सम्पादकीय समूह निर्माण त्यही बाटोलाई अझ फराकिलो गर्ने अभ्यास हो । हाम्रो ध्येयलाई आत्मसात् गर्दै नेपाली पब्लिक डटकममा जोडिनुभएका सम्पादकीय समूहका सम्पूर्णलाई हार्दिक स्वागत !
यो समूहलाई स्वागत गर्दै गर्दा हामीले नेपाली पब्लिकलाई सूचनाको आँधीमा हराउने झोँका होइन, सूचनालाई परख गरेर ज्ञान निर्माणको बाटो देखाउने चिंगारी भएको सपना देखिरहेका छौं । सम्पादकीय समूहको मतैक्यतासहित नेतृत्वले तय गरेको पब्लिक पत्रकारिताको अवधारणा यो यात्राको बलियो आधार बन्ने विश्वास हामीलाई छ ।
तीन बर्षको यात्रामा हामीले धेरैको प्रत्यक्ष–अप्रत्यक्ष साथ पायौं । तपाईं पाठकप्रति हामी विशेष आभारी छौं, जसले हामीले थालेको यो यात्राको औचित्यमा बल दिनुभयो । तपाईंहरूकै साथले हामी यहाँसम्म आइपुग्यौं । र, अब आगामी दिनमा अझ नजिक भएर अगाडि बढ्न उत्प्रेरित छौं । उत्तिकै आभारी छौं तपाईं विज्ञापनदाता, शुभचिन्तक, स्तम्भकार, लेखकप्रति । नेपाली पब्लिकलाई अस्तित्वमा ल्याउन र जोगाउन निरन्तर योगदान गरिरहनु हुने संस्थापकदेखि सहयात्री र पत्रकारहरूको योगदान अतुलनीय छ ।
आजबाट नेपाली पब्लिक डटकममा तपाईंले केही फरक र थप गुणस्तरीय सामग्री पढ्न, सुन्न र हेर्न पाउनुहुनेछ । मूलतः अब पब्लिक पत्रकारिताको खास अभ्यासमा सहभागी हुन पाउनुहुनेछ । कोभिड–१९ को महामारीदेखि प्राकृतिक विपद्सम्मको त्रासका बीचमा पनि हामी उत्साहित छौं । र, यो उत्साह तपाईंसमक्ष प्रसार गर्न चाहन्छौं । संकटको समयमा हाम्रो साथ अझ गाढा हुनेछ भन्ने विश्वास छ । निरन्तर सहयोग, सुझाव र प्रतिक्रियाको अपेक्षा पनि छँदैछ । धन्यवाद !
सुरज डिजी खनाल
अध्यक्ष