काठमाडौं– दहीदूधका पारखी डा. बद्री पोखरेल हरेक साउन १५ गते आफन्तलाई खीर खानका लागि निम्तो गर्छन् । यस दिन उनको घरमा आफन्त जम्मा हुन्छन् । भान्छामा पायस (खीर) पाक्दै गर्दा उनी आफन्तसँग दुःखसुखका गफमा व्यस्त हुन्छन् । केटाकेटी भित्र–बाहिर गरिरहेका हुन्छन् । उनी ‘खीर खाने’ कुराले केटाकेटी झनै रमाउने गरेको सुनाउँछन् ।
पोखरेल सबैभन्दा पहिले भगवान्लाई पायस चढाउँछन् । त्यसपछि आफन्तसँग गफिँदै पायस खान्छन् । उनको घरमा अरू बेला पनि खीर पकाइन्छ । तर, साउन १५ मा पकाइने खीरको विशेष महत्त्व हुने उनको भनाइ छ ।
उनी भन्छन्, ‘यो हाम्रो खाद्य संस्कृति हो । ऊर्जा प्राप्तका लागि खीर खाइन्छ ।’
खीरमा ग्लाइकोजिन
पोषणविद् प्रा.डा. उमा कोइरालाको घरमा यस्तै रमाइलो हुन्छ । उनी साथीभाइलाई खीर खान निम्तो दिन्छिन् । उनले धेरै वर्ष साथीभाइ र परिवारसँग खीर खाएकी छिन्, कुनै कुनै वर्ष यो अवसर गुमेको छ । उनी खीरमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, क्याल्सियम र फस्फोरस पाइने बताउँछिन् ।
कोइराला भन्छिन्, ‘खीरमा ग्लाइकोजिन पाइन्छ । रोपाइँका बेला कडा परिश्रम गरेकाले ग्लाइकोजिन नष्ट भएको हुन्छ । त्यतिबेला शक्ति क्षय भएको हुन्छ । शक्ति पुनः प्राप्तका लागि खीर खानु उपयुक्त हुन्छ ।’
उनका अनुसार गुलियो पदार्थ नखाँदा मानव शरीरमा अम्लीय पदार्थ वृद्धि हुन्छ, जुन शरीरका लागि राम्रो होइन । कोइराला भन्छिन्, ‘अम्लीयपन बढी भएको बेला शरीरमा ब्याक्टेरियाको वृद्धि–विकास छिटो हुन्छ । खीरले अम्लीय पदार्थलाई व्यवस्थापन गरेर शरीर स्वस्थ राख्न मद्दत गर्छ ।’ त्यस्तै, उनले तराईतिर खीर खाने मानिसलाई लाम्खुट्टेको टोकाइले खासै असर नगर्ने मिथ रहेकोसमेत सुनाइन् ।
डा. अरुणा उप्रेती ‘साउन १५’ को सन्दर्भमा सुदूरपश्चिमको डोटीमा खाजाका रूपमा खीर खाएको सुनाउँछिन् । कोइराला भन्छिन्, ‘डोटीमा ‘खीरबूढा’ पसल छ, जहाँ बिहानदेखि बेलुकासम्म खीर पकाइन्छ । त्यहाँ निकै भीडभाड हुन्छ । खीर धेरैलाई मन पर्छ । खीर पौष्टिकताले भरिपूर्ण खाना हो ।’
उनी खीरलाई अमृत समान मान्छिन् । उनी भन्छिन्, ‘खीर बालबालिकादेखि वृद्धसम्मका लागि उपयोगी हुन्छ ।’ उनी आफैं पनि साउन १५ मा खीर पकाएर खान्छिन्, जसको छुट्टै सांस्कृतिक महत्त्व रहेको उनको भनाइ छ । उनी खीर संस्कृति मौसम र शरीरको अवस्थालाई हेरेर सुरु भएको बताउँछिन् ।
खीर संस्कृति
प्रा.डा. ऋषिराम पोखरेल साउन १५ खीर खानु मानवीय रहनसहन र पर्यावरणका कारण सिर्जत खाद्य संस्कृति भएको बताउँछन् । ‘खीर संस्कृति कृषि र पशुपालनसँग सन्निकट छ । नेपाली कृषकबाटै खीर संस्कृति सुरु भएको हो,’ उनी भन्छन् ।
उनी भन्छन्, ‘चिसोका कारण साउनमा धेरै मानिस बिरामी भए । त्यसबेला अस्पताल थिएनन् । उपचारका लागि आयुर्वेदिक औषधि प्रयोग गर्नुपथ्र्यो । यसै क्रममा खीर पकाएर खाइयो । जसबाट बिरामीले ऊर्जा पायो र बिरामी निको भयो । कालान्तरमा यो संस्कृतिका रूपमा विकास भयो ।’
उनी असारको तुलनामा साउनमा चिसो बढी हुने भएकाले आयुर्वेदिक मान्यताअनुसार यतिबेला पायस भोजन गर्दा शरीर स्वस्थ हुने र शारीरिक सन्तुष्टि प्राप्त हुने बताउँछन् ।
उनी पायस त्रिलोकमै प्रिय भएको बताउँछन् । उनी धार्मिक सन्दर्भ कोट्याउँदै भन्छन्, ‘देवलोकका शिवलाई पायस मन पर्छ, श्रावणमा शिवलाई पायस चढाउने चलन अझै छ । श्राद्ध गर्दा यमलोकका पितृलाई पायस चढाइन्छ । मर्त्यलोक (पृथ्वी)मा पायस झनै लोकप्रिय छ ।’ उनले खीरसम्बन्धी सन्दर्भ हरिवंशोत्तर पुराणमा रहेको बताए । उनी खीरको सांस्कृतिक र औषधीय महत्त्व रहेको बताउँछन् ।
भक्तपुरका ओम धौभडेल खीर संस्कृति पशुपालन युगमा सुरु भएको बताउँछन् । उनी भन्छन्, ‘राजको आदेशबाट सुरु भएको चलन होइन । यो पशुपालनसँग सम्बन्धित छ ।’
उनी साउनमा माछामासु खान नहुने चलन रहेको सुनाउँदै भन्छन्, ‘मासुको विकल्पका रूपमा पनि खीर खान थालियो । विशेषतः शरीर न्यानो पार्न खीर खाने चलन बसेको हो ।’
उनी खीर संस्कृतिलाई निरन्तरता दिँदै यसलाई व्यावसायीकरण गर्नुपर्ने बताउँछन् ।