नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने घोषणा गरेको छ । अहिले विभिन्न विभाग गठन गर्नेलगायत पार्टीका संगठनात्मक संरचना निर्माणको काम भइरहेको छ । गत चुनावमा पार्टीकै प्रतिनिधिविरुद्ध बागी उम्मेदवारी दिएको आरोपमा पार्टीका शीर्ष नेता गोविन्दराज जोशीलाई निष्कासन गरिएकाे छ । नेकपाको बहुमतीय सरकारमा प्रतिपक्षको भूमिका कमजोर भएको, पार्टीले प्रजातान्त्रिक समाजवादको मर्मलाई भुल्दै गएको, संगठन विस्तारमा एक पक्षको मनोमानी भएको जस्ता मुद्दालाई लिएर कार्यकर्तादेखि केन्द्रीय तहसम्मै बहस भइरहेको छ । यसै सन्दर्भमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालसँग नेपाली पब्लिकका लागि शकुन्तला जोशीले गरेको संवाद :
महाधिवेशनको तयारी कस्तो छ ?
सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल फागुनमै महाधिवेशन गर्ने तयारीमा हुनुहुन्छ । व्यावहारिकतालाई हेर्दा, नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण फागुन मसान्तभित्र गर्नुपर्थ्याे । तर, पाँच महिना ढिला गरी साउनमा गर्न लागेका छौं । यसकारण हाम्रो ‘स्केजुअल’ नै धकेलिएको छ ।
असोज मसान्तसम्म सदस्यता वितरण र नवीकरण टुंगो लगाइसक्ने भनिएको छ । सभापतिले हस्ताक्षर गरेको सदस्यतामा हामीलाई चित्त बुझ्यो र केही विवाद नआएको खण्डमा समस्या भएन । तर, मंसिरमा पार्टी सभापतिले सही गर्ने, पुसको २–३ गतेतिर मात्रै सदस्यता वडामा गयो भने समस्या हुन्छ । त्यतिबेलासम्म चुनाव हुने बेला भइसकेको हुन्छ ।
अघिल्लो महाधिवेशनमा सदस्यता टुंगो लगाउन झन्डै ७–८ महिना लागेको थियो । नवीकरण वा नयाँ सदस्यतामा परेको उजुरी सुल्झाउन तीन महिना लाग्छ । सदस्यता बाँड्नलाई अर्को तीन महिना लाग्छ । यसरी सिधा हिसाब लाउँदा यो ६ महिनाको प्रक्रिया हो । अहिलेको सन्दर्भमा हेर्दा यो अवधिमा त महाधिवेशन ठ्याक्कै आइपुग्ने भएकाले जोखिम छ । महाधिवेशन नै नहुने चिन्ता छ । तर, अहिले हामीले कमसे कम पहिलो खुट्किलो त पूरा गर्न लाग्याैं । समायोजन र सदस्यता बाँड्ने प्रक्रिया टुंगियोस् ।
पहिले माथिबाट सदस्यता दिइन्थ्यो । हालको विधानअनुसार वडास्तरीय बैठकमा क्रियाशील सदस्यको अनुपातमा ५० प्रतिशत क्रियाशील सदस्य थप्ने भन्ने छ । बैठकमा छानिएकालाई सर्वसम्मतले क्रियाशील सदस्यता दिइयो भने कुरा टुंगियो । होइन भने बोर्डको कार्यसमितिले टुंगो लगाउनुपर्छ । अब क्रियाशील सदस्यता वडाबाट गाउँ या नगर हुँदै प्रदेशसभाको क्षेत्रीय समितिमा जान्छ । क्रियाशीलको अन्तिम प्रक्रिया त्यहाँ गएर टुंगो लाग्छ ।
सदस्यता नवीकरणको टुंगो जिल्ला समितिमा लाग्छ । नवीकरणको उजुरी जिल्लाभन्दा माथि हुन्छ । नयाँ सदस्य प्रतिनिधिसभाको तहमा गएर उजुरीको प्रक्रिया सुरु हुन्छ । त्यसैले एकपल्ट सदस्यता टुंगो लाग्यो भने महाधिवेशन कसैले रोकेर रोकिँदैन । त्यसैले अहिले सदस्यता नवीकरणको प्रक्रिया थालनी गर्छौं । कहीँ कतै अप्ठ्यारो पर्यो भने तालिकालाई संशोधन गर्दै जाऔंला ।
फाेटाे : श्रुति श्रेष्ठ/नेपाली पब्लिक
नेतृत्वका लागि दाबेदार को को छन् ? तपाईं कुन पदको प्रत्याशी हुनुहुन्छ ?
म सभापति पदको उम्मेदवार होइन, त्यसपछिका मुख्य पदको दाबेदार हुँ । त्यहीअनुसारको तयारीमा छु । एक जना सभापतिको उम्मेदवार त शेरबहादुर देउवा नै हुुनुहुन्छ । यता म संलग्न भएको रामचन्द्र पौडेल समूहमा थुप्रै आकांक्षी हुनुुहुन्छ । तर, कसैले पहिले सभापति र पछि जुन पद पाए पनि हुन्छ भन्ने सोचले उम्मेदवारी दिनुहुँदैन ।
कांग्रेसलाई ‘मास बेस्ड पार्टी’ बन्न कुन चरित्र वा प्रणालीले रोक्यो ?
शेरबहादुर देउवा समूहका चार–पाँच जना साथीको कुलीनतन्त्रबाट पार्टी चलेको छ । त्यसैगरी भोलि रामचन्द्र पौडेल समूहका सात जनाको शासन कांग्रेसमा हुने भयो भने देशले खोजेको जस्तो कांग्रेस बन्दैन । मैले विधान बनाउने बेला पनि कुरा गरेको थिएँ– कांग्रेस साँच्चै ‘मास बेस्ड’ पार्टी हुनुपर्यो, ‘क्याडर बेस्ड’ पार्टी बनाउँदा देशमा कम्युनिस्ट नै सबैभन्दा ठूलो पार्टी हुन्छ ।
कांग्रेस ‘टप हेभी पार्टी’ भएको छ । नेपाली कांग्रेस २०४६ पछिसम्म देशको मुख्य पार्टी थियो । पार्टीभित्र धेरै जना मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री भइसकेका व्यक्तित्व हुनुुहुन्छ । हाल प्रधानमन्त्री भएका एक जना हुनुहुन्छ । तर, उपप्रधानमन्त्री वा मन्त्री तहका उपल्लो ओहोदामा पुगेका व्यक्तित्व धेरै हुनुहुन्छ । यसरी हेर्दा हाम्रो पार्टीको टाउको निकै ठूलो र शरीर तथा खुट्टा सानो हुँदै गएको पार्टी बन्यो ।
तलसम्म नियन्त्रण गरेर टाउकाको सोचअनुसार खुट्टा चल्छ कि चल्दै भन्ने सोच राखेर अधिवेशनको तयारीमा शीर्ष नेताहरू लाग्नुभएन । पुरानो पुस्ताले सोच्न सकेन, युवा नेताहरू हिजो बिपीले बनाउनुभएको जस्तो पार्टी बनाउन धरातललाई बलियो बनाउनतिर लाग्नुपर्छ । यस्तो ‘टप हेभी’ भएको पार्टी चल्दैन । अबका युवा नेताले बलियो जरासहितको पार्टी बनाउने सोच्नुपर्यो । त्यसका लागि खुला रूपमा सदस्यता लिन पाउने व्यवस्था गर्नुको विकल्प छैन ।
नेपाली कांग्रेसभित्र युवामा नेतृत्वसम्म पुग्ने पहुँच र क्षमता कस्तो छ ?
आफ्नै उदाहरणबाट सुरु गरौं– म ६२ वर्ष पुगिसकें, अहिले पनि मैले सभापतिमा दाबी गरेको छैन । म रिटायर्ड नहुने र अझै मूल नेतृत्वको दाबी गरिराखें हो भने कांग्रेस त स्ट्याग्नेन्ट (स्थिर) हुन्छ । पार्टीमा ७० वर्ष नाघेका धेरै नेतामध्ये सभापति र उपसभापति पनि हुनुहुन्छ, जो सभापतिको लडाइँमा हुनुहुन्छ । बाँकी नेता १५औं महाधिवेशनमा सभापति हुने लाइनमा बस्नुहोला । यसरी पार्टीलाई ‘स्ट्याग्नेट’ हुन दिनुभएन, खोला जसरी बग्न दिनु पर्यो । अब ती नेताहरूले आफ्नो पालो पुग्यो भनेर युवालाई नेतृत्व छोडिदिनुपर्छ ।
अर्को उदाहरण, २०३६ सालको जनमत संग्रहको चुनावी प्रचारमा बिपी धनगढी पुग्दा शेरबहादुर देउवाको पक्षमा विशाल जनमत देखेपछि उहाँले ३५/३६ वर्षे देउवालाई भन्नुभएको थियो, ‘यिनी त पश्चिमको बेताज बादशाह रहेछन् ।’ त्यतिबेला बिपी ६५/६६ वर्षका हुनुहुन्थ्यो । अहिले देउवा र पौडेलको उमेर ७५ वर्ष नाघिसकेको छ । के उहाँहरू नेविसंघ, तरुण दलका युवासँग ‘तिमीहरूको विचारसँग बहस गर्न तयार छु’ भन्न सक्नुहुन्छ ?
आर्थिक, सामाजिक मान्यता र सैद्धान्तिक हिसाबले नेपाली कांग्रेस अहिले कुन धरातलमा छ ?
आज निजीकरण भयो या भएन, देशले कहाँ चुरोटको फ्याक्ट्री चलाएको छ या छैन, यसमा बहस नगरौं । सहस्राब्दी विकास लक्ष्य (एमडिजी) सन् २००० मा निर्धारण भए । एमडिजीअनुसार हरेक देशबाट गरिबीको रेखामुनि भएका, कुपोषित मानिसको संख्या आधा घटाउने, बाल मृत्युदर दुई तिहाइले घटाउने, मातृ मृत्युदर तीन चौथाइले घटाउने, प्राथमिकता शिक्षा सबैले पाउने बनाउने, माध्यमिक शिक्षामा छात्र र छात्राको विभेद अन्त्य गर्ने लक्ष्य तय भएका थिए ।
सन् २०१५ पछि फेरि अर्को १५ वर्षका लागि दिगो विकासको लक्ष्य (एसडिजी) निर्धारण भइसकेको छ । यसका लागि सबैतिर काम भइरहेको छ । आजको एसडिजीमा हिजो बिपीले भनेको जस्तो हरित विकास, स्वास्थ्यमा पहुँच, सोसियल मोबिलिटी, खाद्य सुरक्षा, रोजगारीलगायत विषयको कुरा समेटिएका छन् । यो आजको समाजवाद हो । महाधिवेशनको बहसमा यी मुद्दा समेटिनुपर्ने तर त्यसो भइरहेको छैन । महाधिवेशनको बहस सदस्यता बाँड्दै जाँदा बलियो वा कमजोर हुने र कसलाई भोट हाल्ने भन्नेमै सीमित छ । ‘मास बेस्ड’ पार्टी भएको भए यी विषयमा छलफल गरिन्थ्यो ।
कोरोना महामारीका कारण हाम्रो अर्थतन्त्र संकुचित भइसकेको छ । विप्रेषण संकुचित भएर २० प्रतिशतले घट्ने देखिएको छ । विप्रेषण घट्दा ५–६ प्रतिशत जति खर्चयोग्य आम्दानी घट्छ । यसको सोझो प्रभाव अर्थतन्त्रमा पर्छ । यसले माग र रोजगारी सिर्जनामा प्रभाव पार्छ, संकट निम्त्याउँछ । यस विषयमा पार्टीमा छलफल भएन ।
कम्युनिस्ट पार्टी सञ्चालन प्रक्रिया र कम्युुनिस्टले समातेको अधिनायकवादी बाटाे मूल छलफलको विषय बनेको छ । सभापति शेरबहादुर देउवा नै हुने कि अर्को मानिस आउने भन्ने मात्रै बहस सीमित छ । कांग्रेसलाई आम जनताको पार्टी नबनाएसम्म भगवानलाई नै सभापति बनाए पनि कांग्रेस कम्युनिस्ट पार्टीको विकल्प बन्दैन ।
यो पनि पढ्नुहोस्: किचलोले थिलथिलो कांग्रेसः न मुद्दा, न माहोल
फाेटाे : श्रुति श्रेष्ठ/नेपाली पब्लिक
महाधिवेशन संघारमा सभापतिले एकलौटी विभागहरू गठन गरेर आफ्ना मान्छे राखेको आरोप लगाइन्छ नि ? यसबाट पार्टीभित्र उठ्ने विवादलाई कसरी समाधान गर्नुहुन्छ ?
सभापतिले चार वर्षे कार्यकालसम्म यी निकाय बनाउनुभएन । महाधिवेशनका लागि थपिएको एक वर्षमा ६ महिना बाँकी हुँदा यी निकाय बनाइयो । उहाँले भोलिको सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई सहयोग पुर्याउने गरी काम गर्नुभएको छ । त्यसैले यी समितिमा हाम्रो संलग्नता रहँदैन । यो गलत भयो, यसले चुनावलाई प्रभावित पार्छ । यस्तो काम रोकिनुपर्छ भन्ने हाम्रो धारणा हो । उहाँले यो गलत परिपाटीलाई रोक्नुभएन । यसैगरी महाधिवेशनमा पुग्ने कुरा भएमा हामी गलत परिपाटीसँग जुध्ने तयारी गर्छौं ।
अहिले प्रतिपक्षको भूमिका शून्यप्रायः देखिन्छ । किन होला ?
व्यक्तिगत रूपमा बोलिएको विषयलाई लिएर आत्मरतिमा रमाउने पक्षमा छैनौं । अहिले कम्युनिस्ट पार्टीप्रति घोर निराशा छ । मैले बोलेका कुरामा अतिरञ्जना हुँदैन । जनता काठमाडौंमा मात्र होइन, देशभरबाट सडकमा आए । जनता राजनीतिक सत्ताको खोजी गरेर आएका होइनन् । ‘इन अफ इज इन अफ’को आन्दोलनमा आम मान्छे आए ।
यस्तो अवस्थामा स्वाभाविक रूपमा विपक्षप्रति आशा राख्नुपर्ने हो । तर जनताले विपक्ष पार्टीको नेतृत्वमाथि भरोसा गरेनन्, आफैं सडकमा आए । यस्तो परिस्थिति आउँदासम्म कांग्रेसले यस विषयमा सोच्नुपर्छ कि पर्दैन ? यो परिवेशमा कांग्रेसले आफूलाई भरोसाको केन्द्र बनाउनुपर्थ्याे । अब ६ महिनाभित्र पनि कांग्रेस आमजनताको पार्टी बन्न नसके हाम्रो महाधिवेशन निरर्थक हुन्छ । एउटा सामान्य नागरिकका लागि कांग्रेसको महाधिवेशन ‘आयो र गयो’ले कुनै अर्थ नराख्ने परिस्थिति हुन्छ । त्यस्तो परिस्थिति नहोस्, त्यतातिर प्रयत्नशील रहौं भन्ने मेरो भनाइ हो । यो आजको चुनौती पनि हो ।
एससिसीबारे नेपाली कांग्रेसको मत के हो ?
यस मुद्दामा मेरो दृढ विचार छ । तर, त्यो विचार संसदभित्र मात्रै राख्ने हो । संसद्को अधिवेशन नबोलाउँदासम्म कांग्रेसले पनि निर्णय गर्न हतारो गर्नुहुँदैन भन्ने हो । २२ प्रतिशत मत हुने बिँडले तात्न खोज्ने र ताप्के नतात्दा केही हुँदैन । सरकारले राष्ट्रपतिमार्फत् संसद् अधिवेशन आह्वान नगर्दासम्म एमसिसीबारे निर्णय गर्नुहुँदैन । तर, यो विषय दसैं–तिहारसम्म छलफल नहुने अवस्था बनेको छ ।
हालै कांग्रेसले पार्टीका नेता गोविन्दराज जोशीलगायत नेतालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । यही बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री सुनिल थापा कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेसको भावी राजनीतिलाई यसले कस्तो प्रभाव पार्ला ?
कांग्रेस हुन चाहने सबैले पार्टीमा रहन र हुन पाउनुपर्छ । कांग्रेसले पार्टीबाट कसैलाई निकाल्नुहुँदैन भन्ने मेरो मत छ । पार्टीमा अनुशासन आवश्यक होला नि भन्ने प्रश्न आउला । मेरो मान्यताचाहिँ लोकतान्त्रिक पार्टीमा अनुशासन समिति चाहिँदैन । लोकतान्त्रिक पार्टीमा मान्छे चित्त बुझे बस्छ, नबुझे बस्दैन भन्ने हो ।
गोविन्दराज जोशीसँगै कैलाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री पुष्करनाथ ओझालाई पनि निष्कासन गरिएको छ । गत चुनावमा पुष्कर ओझाले आरजु देउवालाई र गोविन्दराज जोशीले रामचन्द्र पौडेललाई गत चुनावमा सहयोग गरे वा गरेनन्, थाहा छैन । तर, जे गरेको भए पनि क्षमाशीलता हुनुपर्थ्याे । अझ रामचन्द्र पौडेल पार्टीमा यति लामो समय व्यतीत गरेको, भोलिका हाम्रा शीर्ष नेतामा झन् बढी यो चरित्र देख्न खोजेको थिएँ, पाइनँ । चोटमा मल्हम लगाउने कि पार्टीबाटै निष्कासन गर्ने ? कानुनले बर्जित गरेकाबाहेक जो कोही पनि मानिस कांग्रेस हुन पाउँछ, कांग्रेस प्रवेश गर्न पाउँछ । अहिले सुनिल थापालाई जुन पद दिए पनि त्यो महाधिवेशनसम्मका लागि हो । त्यसपछि त उहाँले चुनाव जितेर आउनुपर्ने हुन्छ ।
०००
छुटाउनु भयो कि ? : किचलोले थिलथिलो कांग्रेसः न मुद्दा, न माहोल