अछाम– गाउँपालिका अध्यक्षले गाउँमा तटबन्ध पारिदिने आश्वासन दिँदै स्थानीयका तीनओटा खाल्वा (भेडा) खाएको पाइएको छ । अछामको रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउद (भाष्कर)ले वडा–५ अल्लेडीमा तटबन्धन आयोजना पारिदिने भन्दै पटक पटक गरी स्थानीयका खालबा खाएका हुन् ।
यतिबेला अछामको रामारोशन गाउँपालिका–५, अल्लेडीका १६८ घर पहिराका जोखिममा छन् । २०६३ सालबाट सुरु भएको पहिरो नरोकिएपछि अल्लेडी जोखिममा छ ।
त्यस्तै, पहिरोका कारण जिउनेरवा, बल्लेखोला, गजड बजार क्षेत्रको खेतमा क्षति पुगेको रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् । पहिरोका कारण रुपादेवी अल्लेडी प्रावि र बस्तीका ७० दलित, ६२ बुढा र ३६ बोहरा घरपरिवार जोखिममा छन् ।
स्थानीय तहले बेवास्ता गर्दा पहिरोको समस्या झन् बढ्दै गएको स्थानीयको भनाइ छ । खोपी खोला र बरे खोलाले लगातार गाउँलाई वरिपरिबाट काटिरहँदा पनि स्थानीय तहबाट बेवास्ता भएकामा गाउँलेको चित्त दुखाइ छ । पहिरो खसिरहँदा सुरक्षित स्थानतिर भाग्नसमेत मुस्किल रहेको स्थानीय शेरबहादुर विकले बताए ।
भैंसीगोठको बास
मध्यरातदेखि विस्थापित स्थानीय हाल नजिकैको भैंसी गोठमा बसिरहेका छन् । उनीहरू एउटै गोठमा गाईभैंसी, भेडाबाख्रा र अन्य जनावर राखेर बस्न कठिन भइरहेको बताउँछन् । उनीहरूले घरमा रहेको अन्नसमेत झिक्न पाएका छैनन् । घरबाट अन्न ल्याउन नसके भोकै बस्नुपर्ने बाध्यता आइलाग्ने उनीहरुको भनाइ छ । त्यस्तै, रामारोशन तिमिल्सेन सडकखण्डअन्तर्गत बल्लेखोलामा सडक भत्किएकाले खाद्यान्न ल्याउन समस्या भएको छ ।
त्यस्तै, सर्पको त्रासले रातभरि सुत्न नसकेको उनीहरुको भनाइ छ ।
पहिरो क्रम
यसअघि पनि अल्लेडीमा निरन्तर पहिरो जाने गरेको छ । पहिलो पटक २०६३ सालमा पहिरो जाँदा ५ घर, २ भैंसीगोठसहित झन्डै ७ रोपनी जमिन बगाएको थियो । यस पहिरामा बल्ले खोलाको पुलको माथिल्लो भागसमेत बगाएको थियो ।
त्यस्तै, २०६५ सालमा २ रोपनी र २०७५ सालमा ४ रोपनी जमिन पुरिएको थियो । पहिराका कारण सिंगो गाउँ नै पुरिने भन्दै स्थानीयले जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए । तर, उनीहरुको आवाज कतैबाट सुनिएन ।
पहिरामा राजनीति
२०७४ सालको स्थानीय निर्वाचनपछि स्थानीयले गाउँपालिका अध्यक्ष झंकर साउदलाई पहिरो रोकथाम गरेर घर जोगाइदिन आग्रह गरेका थिए । तर, उनीहरूको माग सुनुवाइ भएन ।
‘साउद जतिपटक अल्लेडी आउँथे । त्यति नै पटक उनका लागि खाल्वा (भेडा) काट्नुपथ्र्यो । उनी खाल्वा नखाएसम्म केही प्रतिबद्धता गर्दैनथे,’ गोविन्द बोहराले भने ।
साउदले तटबन्धन योजना पारिदिने प्रलोभन देखाएर गाउँलेहरुबाट २८ हजार मूल्यका दुई खाल्वा, कालिकोट जिउली भ्रमणको क्रममा ९० हजार नगद, ३० हजार मूल्यबराबरको दुई काम्लो (भेडाको ऊनबाट बनेको कम्मल) र १६ हजार मूल्यबराबरको एक खालबा खाइदिएको बोहराको भनाइ छ ।
गाउँपालिका अध्यक्ष झंकर साउदले स्थानीयबाट खालबा नखाएको र नगद नलिएको बताएका छन् । उनले भने, ‘म जात फालेर खाने मान्छे होइन, मैले त्यस्तो केही खाएको छैन ।’
त्यस्तै, उनले आरोप प्रमाणित भएमा दण्ड सजाय भोग्न तयार रहेको बताए ।
यसैगरी, नेकपा नेता रवीन्द्र साउदले २० हजार र गाउँपालिका अध्यक्षका भाइसमेत रहेका नेकपा नेता दलबहादुर साउद (असीम)ले ३० हजार रुपैयाँ गाउँलेबाट लिएका छन् ।
गाउँपालिका उपाध्यक्ष रावलले पहिरो नियन्त्रण गर्न आवश्यक पहलका छलफल सुरु भइसकेको र आफू त्यस क्षेत्रको भ्रमणमा गएकाे बताइन् । ‘हामी पहिरो नियन्त्रण र स्थानीयको उद्धारका लागि छलफलमा जुटेका छौं,’ उनले भनिन्, ‘अल्लेडी पुगेपछि त्यहाँ अवस्था देखेर मन राेयाे । यसकारण सकेसम्म छिटो नै पहिरो नियन्त्रणका लागि केही काम सुरु हुनेछ ।’