काठमाडौं– उपत्यकाकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४१ तथा भक्तपुर र ललितपुरमा दुई/दुई जना गरी ४५ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ४ जनाको नमुना परीक्षण गर्दा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै संक्रमतिको संख्या १९ हजार ५ सय ४७ पुगेको छ । नेपालमा हालसम्म पिसिआर विधिबाट ३ लाख ६४ हजार ६ सय ४८ जनाको परीक्षण भएको छ ।
एकैदिन २ सय २७ जना डिस्चार्ज
प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय २७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको संख्या १४ हजार २ सय ४८ पुगेको छ । उनका अनुसार १३ हजार १ सय २ जना क्वारेन्टिनमा र ५ हजार २ सय २७ जना आइसोलेसनमा छन् ।
मुलुकभर ५ हजार २ सय २७ सक्रिय संक्रमित छन् । कोरोना भाइरस संक्रमणबाट हालसम्म ५२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप तीन जना संक्रमितको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।